
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रेमप्रसाद आचार्यको मृत्युप्रति दुःख जनाएका छन्।
सामाजिक सञ्जालमार्फत थापाले आचार्यको अन्तिम पत्रमा उल्लिखित विषय र प्रसंगले आफूलाई पटकपटक घोचिरहेको लेखेका छन्।
आचार्यको मृत्यु सिष्टम चलाउनेको आफूहरूकै असफलता भएको जिकिर गरेका छन्।
उनले लेखेका छन्- प्रेमप्रसाद आचार्यको आत्मदाहको घटनाले आज दिनभर मनमा अनेकन कुरा खेलिरहेको छ। उनको अन्तिम पत्रमा उल्लेखित विषय र प्रसंगहरूले त झन पटक-पटक घोचीरहेको छ। यसो सोच्छु-उनको गरिखाने संघर्षका कुनै चरणमा केही भएको वा नभएको भए यस्तो हुदैनथ्यो कि! फेरी सोच्छु-यो कुनै व्यक्तिको असफलता मात्रै होइन यो त हाम्रो राज्य संयन्त्र र समग्र सिष्टमको असफलता हो। म, हामी सिष्टम चलाउनेको असफलता हो। कुनै एउटा पक्षको सामान्य मर्मतले मात्र हाम्रो सिष्टम ठिक हुँदैन। गरिखाने मान्छेले न्यायोचित व्यवहार पाउन यो सिष्टम पूरै मर्मत गर्ने अठोट चाहिएको छ। अब आरोप-प्रत्यारोप वा क्षणिक भावनात्मक आवेग भन्दा पनि उनले पत्रमा उठाएका विषय र प्रसंगलाई सम्बोधन गर्न निरन्तर लागिरहने अठोट गर्न सकियो भनेमात्र यस्तो निराशा र विष्मय कोही नागरिकले भोग्नु नपर्ला!
हिजो संसद् भवन नयाँ बानेश्वरमा आगो लगाएर आत्मदाह प्रयास गरेका सर्वसाधारण आचार्यको आज बिहान कीर्तिपुरमा उपचार क्रममा निधन भएको थियो।
</p>