
खानेपानीमन्त्री अब्दुल खांनले प्रत्येक परिवारलाई स्वच्छ खानेपानीको व्यवस्था गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । पदभार ग्रहण गर्दै उनले भने, “पानी भनेको हाम्रो जीवन हो, पानी बिना हामी बाच्न सक्दैनौँ, एक घर, एक धाराको अवधारणाअनुसार प्रत्येक परिवारलाई स्वच्छ खानेपानीको प्रबन्ध मिलाउने छु ।”
खानेपानीका विषयमा आउने गरेका समस्या तथा गुनासाका विषयमा मन्त्रालयमा कल सेन्टर अथवा सुझाव स्थापना गर्ने जानकारी दिँदै उनले भने, “नागरिकका गुनासा सुन्नका लागि हामीले कल सेन्टर स्थापना गर्ने छौँ, कल सेन्टरमा आएका गुनासा तत्काल समाधान गर्नका लागि एउटा छुट्टै समिति बनाइने छ र समस्या समाधान गर्ने छौँ ।”
यसैगरी मन्त्री खांनले खानेपानी मन्त्रालयले सञ्चालन गरेका योजनामा अवरोध भएको भए कहाँ, कसरी र कुन निकायबाट अवरोध भयो त्यसका विषयमा आफूलाई जानकारी दिनसमेत कर्मचारीलाई निर्देशन दिए । रासस