अस्ट्रेलियाको मेलबर्नमा विगत १५ दिनमा तीनवटा हिन्दू मन्दिरमा भारतविरोधी तथा खालिस्तान समर्थक नारा लेखिएपछि हिन्दू समुदाय स्तब्ध भएको छ ।
तर हिन्दूहरूले संवेदनशीलता तथा परिपक्वता देखाउँदै सिख समुदायसँग एकताको सन्देश दिएका छन् । अनि अस्ट्रेलियामा बस्ने भारतीयहरूले पनि शान्तिको आह्वान गरेका छन् ।
अस्ट्रेलियामा हिन्दू संगठनका अध्यक्ष डा नवीन शुक्ला यस घटनाबाट उत्तेजित हुनुपर्ने कारण नरहेको बताउँछन् । तर आफूहरू यसबाट सतर्क चाहिँ हुनुपर्ने उनको भनाइ छ । सरकारले हिन्दूहरूको सुरक्षामा ध्यान दिनुपर्ने उनी बताउँछन् ।
अस्ट्रेलियामा हिन्दू समुदाय तेस्रो ठूलो छ । सन् २०२१ मा भएको जनगणनाअनुसार, अस्ट्रेलियामा ६.८४ लाख हिन्दू बस्छन् ।
जनवरी १२ र २३ को बीचमा मेलबर्नका मन्दिरका भित्तामा भारतविरोधी नारा लेखिएका हुन् ।
घटनामा संलग्न कसैलाई पनि प्रहरीले पक्राउ गरेको छैन ।
प्रहरीले धार्मिक सद्भाव भड्काउन खोज्ने व्यक्तिको पहिचान गरी कारवाही चलाउनुपर्ने हिन्दूहरूको माग छ ।