जर्मनी र अमेरिकाले युक्रेनलाई ट्यांक दिने निर्णय लिनु भनेको त्यस देशलाई पश्चिमले गरेको राजनीतिक सहयोगको बलियो उदाहरण हो । यी ट्यांकहरूले रुसी अतिक्रमणकारीहरूलाई पछि हटाउन युक्रेनी सेनालाई सहायता गर्नेछन् ।
युक्रेन तथा अन्य साझेदारले हप्तौंसम्म दबाब दिएपछि बर्लिनले अन्ततोगत्वा आफ्ना १४ वटा लेपर्ड २ ट्यांक पठाउने भएको छ । ती ट्यांकहरू विश्वकै सर्वोत्कृष्ट भएको बताइन्छ ।
अरू केही युरोपेली मुलुकहरूले पनि लेपर्ड ट्यांक सञ्चालन गर्ने गरेका छन् र जर्मनीको निर्णयपछि उनीहरूलाई पनि ट्यांक पठाउन सजिलो भएको छ । रुसविरुद्ध प्रत्याक्रमण कारवाही चलाउन युक्रेनलाई आवश्यक अनेकौं हतियारमध्ये ट्यांक सबभन्दा महत्त्वपूर्ण हो ।
‘युक्रेनलाई ५ हजार हेल्मेट दिएबाट अहिले लेपर्ड ट्यांकसम्म,’ जर्मन मार्शल फन्डका अनुसन्धाता ब्रुनो लेतेले टिप्पणी गरे । युद्ध शुरू भएपछि जर्मनीले युक्रेनलाई हेल्मेट दिने निर्णय लिँदा त्यसलाई मजाकमा उडाइएको थियो ।
‘एक वर्षभन्दा कम समयमा जर्मनीले दोस्रो विश्वयुद्धपछि सात दशकको शान्तिवादी नीतिलाई भंग गरेको छ,’ उनले थपे, ‘उसले यो अनिच्छाका साथ गरेको भए पनि यो आफैंमा प्रमुख मोड हो ।’
बेलायतले पनि युक्रेनलाई च्यालेन्जर ट्यांक दिने प्रतिज्ञा गरेको छ । अनि अमेरिकाका राष्ट्रपति जो बाइडनले युक्रेनलाई ३१ वटा एम१ अब्राम्स ट्यांक दिने घोषणा बुधवार गरेका छन् ।
फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रोंले युक्रेनलाई लक्लर्क ट्यांक दिने विषयमा विचार गरिरहेको आइतवार संकेत दिएका छन् ।
बर्लिन, पेरिस र वाशिङटनले युक्रेनलाई हलुका वाहन पनि दिने प्रतिज्ञा गरेको सन्दर्भमा पश्चिमको यो ऐक्यबद्ध प्रयास रुसका लागि नकारात्मक घटनाक्रम हो । युक्रेनलाई पश्चिमले लामो समयसम्म सहयोग गर्न नसक्ने कुरामा रुस ढुक्क थियो ।
युद्धको अग्रमोर्चामा खटिएका ट्यांकहरू पठाउँदा युद्ध दायरा फराकिालो हुने भनी बर्लिनले चिन्ता व्यक्त गरेको भए पनि त्यो मत्थर भएको छ । रुसले युक्रेनमाथि आक्रमण गरेपछि यस्ता कैयौं वर्जनाहरू समाप्त भइसकेका छन् ।
‘सन् २०२२ मा दिइएका हावित्जर र मल्टिपल रकेट लोन्चरहरू पनि यत्तिकै गम्भीर थिए किनकि युद्धको परिणाम निर्धारण गर्ने काममा आर्टिलरी बढी शक्तिशाली छ,’ युक्रेनका सैन्य विश्लेषक माइकोला बिलिस्कोभ बताउँछन् ।
युक्रेनको हवाई प्रतिरक्षा बलियो बनाउनका लागि अमेरिकीहरूले पेट्रियट क्षेप्यास्त्र पनि दिने प्रतिज्ञा गरेका छन् । पश्चिममा उपलब्धमध्ये यो उत्कृष्ट हतियार प्रणाली हो ।