
सरकारको नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रले राष्ट्रपतिबारे नेपाली कांग्रेससँग पनि सहमति गरेर जानुपर्ने निष्कर्ष निकालेको छ ।
कुनै पार्टीलाई बाइपास गरेर राष्ट्रपति चयन गर्न नहुने माओवादीको धारणा छ ।
विकसित पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा र राष्ट्रपति निर्वाचनबारे पार्टीको धारणा बनाउन बिहीबार बसेको माओवादी स्थायी कमिटी बैठकले सरकारलाई समर्थन गरेको कांग्रेससँग समेत सहमति गरेर बढ्ने निर्णय गरेको हो ।
बैठकपछि माओवादी सचिव देवेन्द्र पौडेलले कांग्रेस र एमाले दुवैलाई मान्य हुने व्यक्तिमा सहमति खोज्नुपर्ने पार्टीको धारणा रहेको जानकारी दिए । ‘कुनै पार्टीलाई बाइपास गरेर राष्ट्रपति छान्न ठीक हुँदैन भन्नेबारे छलफल गर्यौं’, पौडेलले भने, ‘एमालेलाई बाइपास गरेर पनि सहमति हुँदेन, कांग्रेसलाई बाइपास गरेर पनि सहमति हुँदैन ।’
प्रतिनिधि सभाको कार्यकालको सुनिश्चितता र संविधानको रक्षाका लागि राष्ट्रपतिमा सहमति गर्नुपर्ने माओवादी धारणा आएको हो ।
पुस १० गते एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा प्रधानमन्त्री माओवादीले लिने तथा राष्ट्रपति र सभामुख एमालेले लिने भद्र सहमति भएको थियो । नेपाली कांग्रेसले समेत प्रधानमन्त्रीलाई विश्वासको मत दिएकाले उसलाई समेत सहमतिमा लिएर जानुपर्ने माओवादीको नयाँ लाइन आएको हो ।
पेरिसडाँडामा माओवादी स्थायी कमिटी बैठकअघि बालुवाटारमा एमाले अध्यक्ष केपी शर्माले प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'सँग भेटवार्ता गरेका थिए ।