
आफूलाई मिडिया नेपालको बाँके जिल्ला अध्यक्ष बताउने आशिष मल्लले स्थानीय तथा साना व्यसायीहरुलाई पैसाको बार्गेनिङ गरेर दुःख दिनेगरेको स्थानीय व्यवसायीले गुनासो गरेका छन् । उनी मिडिया नेपालको कुनै जिम्मेवारीमा नभएको राप्रपाका नेताहरुले प्रष्ट पारेका छन् ।
सूचना विभागको दर्तामा उनले उल्लेख गरेको एबीपी क्राइम न्युजको दर्ता भेटिदैन । उनले आफूलाई पत्रकार भन्दै सर्वसाधारणलाई ठगी गर्दा नेपालगञ्जका पत्रकार पनि समस्या परेको त्यहाँका पत्रकारले बताएका छन् ।एक पत्रकारले भने ‘उनी आफूलाई राप्रपा निकट मिडिया नेपालको नेता भने पनि कुनै संगठनमा छैनन्, पत्रकार हुँ भन्दै व्यवसायीलाई थर्काएर पैसा उठाउँछन् ।’ एबीपी क्रामइन्युज नामको साइट सञ्चालन गरेर उनले गलत धन्दा गरेपछि केही समय पहिला पनि प्रहरी हिरासतमा पुगेका थिए ।
पत्रकारको काम समाचार लेख्ने हो । पैसाको वार्गेनिङ गर्ने होइन, पत्रकारिताको मूल्य मान्यताविपरित उनले आफैले कुनै सूचना प्राप्त गरे भने टिमसहित पुग्ने गरेको र त्यहाँ उनले पैसाको बार्गेनिङ गरेर असुल्ने गरेको भन्दै केही समय पहिला नेपाल पत्रकार महासंघ बाँकेले विज्ञप्ति मार्फत उनको भण्डाफोर गरेको थियो ।
अहिले बाँकेबाट संघीय संसदमा निर्वाचित धवल शमसेर राणासँग नजिक भएको भन्दै डरधाक दिएर उनले असुली गर्ने गरेको मध्यपश्चिम पानी उद्योगका प्रोप्राइटर उदीतबाबु रेग्मीले बताए । उद्योगले उत्पादन गरेर बजारमा गइसकेको पानीमा केही दिनअघि कालो पदार्थ (लेउ) देखिएको थियो । सोही बोतल लिएर उनी पानी उद्योगमै आएर भिडियो बनाएर बार्गेनिङ गरेको पीडित रेग्मीले बताए ।
उनले भने केही समय पहिलाको घटना हो, शुरुमा आएर भिडियो खिचे, पछि तपाईहरुको भिडियो मेटाइदिन्छौं, वार्षिक २ लाख रुपैयाँ दिनुस भनेर भने । पैसाको बार्गेनिङ गर्न उनले आफ्ना कर्मचारीलाई लगाउने गरेका छन् ।
पत्रकारितको नाममा गुण्डागर्दी गर्नेहरुलाई सरकारी निकायले पनि कानुनी दायरामा ल्याउन स्थानीय व्यवसायीले माग गरेका छन् । पत्रकार भन्दै ठगी गर्ने मल्ल पैसा वार्गेनिङ गरेको अभियोगमा पक्राउ परिसकेका छन् । उनका कार्यशैलीप्रति बाँके प्रहरी जानकार रहेको बताएको छ ।
राप्रपाका सांसद धवल शमसेर राणाले मल्ललाई आफूले चिने पनि उ आफ्नो संगठनको मान्छे नभएको बताए । उनले भने ‘मल्ल मेरो मान्छे होइन, प्रहरीलाई भनेर समात्न लगाए हुन्छ ।’ यस्तै, मिडिया नेपालका केन्द्रीय अध्यक्ष गोपाल पौडेलले आशिष मल्ल बाँके जिल्लामा कुनै पनि पदमा नरहेको बताए । उनले यस्ता घटनाले संगठन पनि बद्नाम गर्ने भएकाले यसबारे जिल्लास्तरका नेताहरुसँग छलफल गर्ने बताए ।