
जरोकिलो महाअभियानका संकल्पकर्ता डा.निर्मलमणि अधिकारीले नेपाल बहुआयामिक संकटमा फसेको हुँदा बहुआयामिक संगठनले मात्रै नेपाललाई समस्यामुक्त पार्ने बताउनुभएको छ । जरोकिलो महाअभियानको सातौँ स्थापना दिवसको अवसरमा आज भक्तपुरमा आयोजित कार्यक्रममा सो कुरा बताउनुभएको हो । नेपालको भाषिक, धार्मिक, साँस्कृतिक र क्षेत्रीय विविधतालाई सहृदयताको सम्बन्धमा बाँधेर विविधता समस्या होइन, सम्पदा हो भनेर जरोकिलो महाअभियानले स्थापित गरिसकेको बताउनुभयो ।
त्यस्तै जरोकिलो महाअभियानको विशिष्टीकृत संस्था सहृदयता अन्तरराष्ट्रिय इजरायलले किरात सभ्यताको संरक्षण र प्रवर्धनमा महत्वपूर्ण भूमिका खेलेको भन्दै खुवलुङ्ग नाटक समूहलाई सम्मान स्वरुप ५१,००० रुपैयाँ नाटकका निर्देशक किरण राईलाई डा. अधिकारीले हस्तान्तरण गर्नुभयो । सम्मानपत्र ग्रहण गर्दै खुवालुङ्ग नाटकका निर्देशक किरण राईले जरोकिलो महाअभियानले नेपालको मौलिक धर्म, संस्कृति, परम्पराको संरक्षणमा उदाहरणीय कार्य बताउनुभयो ।
स्थापना दिवस कार्यक्रममा जरोकिलो महाअभियानले सम्पन्न गरेको मौलिक धाँ बाजाका प्रशिक्षक तथा प्रशिक्षार्थीहरुलाई सम्मान पत्र र प्रमाण पत्र वितरण गरेको थियो । निशुल्क रुपमा मौलिकतामा आधारित चुनावी गीत सिर्जना गर्नुभएका व्यक्तित्वहरुलाई कदर पत्र पनि सोही अवसरमा प्रदान गरिएको थियो ।
महाअभियानका विशिष्टीकृत संस्थाहरूका प्रमुखले आ–आफ्नो संस्थाले स्थापना भएदेखि हालसम्म गरेका कार्यहरू छोटकरीमा प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा सनातन धर्म महासंघ नेपालका अध्यक्ष डा. माधव प्रसाद लामिछाने, सहृदयता समाज नेपालका अध्यक्ष आचार्य तिलक प्रसाद लुईटेल, मौलिक जरोकिलो पार्टीका कार्यवाहक अध्यक्ष नुमनाथ प्याकुरेल, सञ्चारयोग मिडियाका प्रबन्ध संचालक सुशील गौतम, जरो किलो प्रतिष्ठान नेपालका अध्यक्ष बलराम प्रजापति, सहृदयता उद्यमशिलताका अध्यक्ष जोनसोन थापा, नागरिक फाउन्डेसनका अध्यक्ष अरुण पौडेल, प्रगतिवादी युवा समाज नेपालका अध्यक्ष टेकराज कोइराला, अखिल नेपाली विद्यार्थी संघका भुवन खत्रीले बोल्नुभएको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य कृष्णराम प्रजापतिले गर्नुभएको थियो भने संचालन युगनिर्माण महिला समाज नेपालकी सचिव मिश्रादेवी कार्कीले गर्नुभएको थियो ।