
आत्मदाहको प्रयास गरेर घाइते भएका प्रेम आचार्यलाई अस्पतालमा भेट्न गएकी स्वास्थ राज्यमन्त्री तोसिमा कार्कीले विवादमा परेपछि स्पष्टीकरण दिएकी छन्।
आफू घाइते अवस्थामा रहेका आचार्यलाई भेट्न जाँदा अस्पताल प्रसाशनको कुनै प्रोटोकल नमिचेको बताएकी छन्।
स्वास्थ्य पत्रकार मञ्चले स्वास्थ्य मन्त्रालयमा आज (शुक्रबार) आयोजना गरेको कार्यक्रममा राज्यमन्त्री कार्कीले आफूभित्रको मानवीय संवेदनाले अस्पताल पुगेको बताइन्।
'म त्यसै बस्न सकिनँ र अस्पतालमा भेट्न पुगेकी थिएँ। त्यहा पुग्नु आवश्यक थियो। हरेक प्रोटोकलभन्दा माथि मानवीयताको प्रोटोकल हुन्छ, त्यसैले उहाँलाई हौसला दिन म अस्पताल पुगेको थिएँ,' उनले भनिन्, हामीले अस्पतालको प्रशासनको प्रोटोकल मिचेका छैनौं मैले अस्पतालका चिकित्सकलाई फोन गरेर बुझेपछि आचार्य होसमा भएको थाहा भएपछि म गएको थिएँ, चिकित्सकलाई जानकारी गराएर गएको थिएँ।'
आचार्यलाई भेटन् जाँदा आफूले क्यामेरा लिएर नगएको र कसले फोटो भिडियो खिच्यो त्यसबारे पनि थाहा नभएको उनले बताइन्।
घाइते आचार्यको बुधबार बिहान निधन भएको थियो।