
अवैध रूपमा वाह्य मुलुकतर्फ लैजान लागेको १०१ थान राहदानी र प्रहरी चारित्रिक प्रमाणपत्र ७९ थानसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर महानगरपालिका –३ घर भएका ३८ वर्षीय अमित बोगटी र नवलपरासी (पूर्व) विनयी त्रिवेणी गाउँपालिका –७ घर भएकी ३८ वर्षीया सोनीकुमारी गुरुङ रहेका छन् ।
नेपाल एयरलाइन्सको उडानद्वारा काठमाडौंबाट दिल्ली जान लागेका उनीहरूको लगेजलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान पछाडि व्यागेज एरियामा एक्सरे गर्नेक्रममा लगेजबाट शंकास्पद रुपमा सो राहदानी र प्रहरी चारित्रिक प्रमाणपत्र पक्राउ गरिएको हो ।
सोधपुछका क्रममा सो राहदानी रोमानियामा भिसा स्ट्याम्पिङ गर्न लैजान लागेको ती व्यक्तिले बताएका छन् । उनीहरूलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि नेपाल प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान व्यूरो महाराजगञ्ज पठाइएको प्रहरीले जनाएको छ ।