१४ असार २०८३, आइतबार

पर्यटनबाट समृद्धि खोज्दै बाग्लुङको निसीखोला

पर्यटनबाट समृद्धि खोज्दै बाग्लुङको निसीखोला

डम्मर बुढा मगर

समथर भू–भागदेखि उच्च पहाडसम्म फैलिएको बाग्लुङ जिल्लाको निसीखोलामा अनगिन्ती धार्मिक तथा पर्यटकीय गन्तव्य छन् । तर, प्रचार र पूर्वाधार निर्माण नहुँदा धेरै सम्भावना बोकेका ती गन्तव्य ओझेलमा छन् । स्थानीय सरकार आएपछि केही परिवर्तन भने हुन थालेको छ । एक हजार दुई सयदेखि चार हजार मिटर उचाइसम्म रहेको निसीखोलामा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्दो छ । 

प्रचारको अभावमा आझेलमा परेका धार्मिक तथा पर्यटकीय क्षेत्रको विकास तथा प्रवद्र्धनका लागि निसीखोला गाउँपालिकाले सक्रियता देखाएको छ । पालिकाभित्रका सम्भावना बोकेका पर्यटकीय गन्तव्य उजागर गर्न गाउँपालिकाले केन्द्र र प्रदेश सरकारसँग समन्वय गरिरहेको छ । गाउँपालिकाले रोल्पा, रुकुम र प्युठानसहित जिल्लाका विभिन्न पालिकासँग जोडिएका महत्वपूर्ण गन्तव्यको पहिचान र प्रचार गरी पूर्वाधार निर्माण गर्न थालेको छ । 

राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गले जोडिएपछि ओझेलिएका गन्तव्य पनि प्रचारमा आउन थालेका छन् । पालिकाभित्र रहेका धार्मिक तथा पर्यटकीयस्थलको गुरुयोजना बनाउने र तिनीहरुको प्रचार र विकासका लागि गाउँपालिका योजनाबद्ध रुपमा लागेको गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीमगरले बताए । 

घर्तीले चर्चामा आएका गन्तव्यको पूर्वाधारमा जोड दिने र ओझेलमा रहेका स्थलको प्रचारलाई तीव्रता दिने बताए । उनले भने, “निसीखोलामा धेरै धार्मिक तथा पर्यटकीय क्षेत्र छन्, कति हामीले पहिचान गरेका छौँ, कति पहिचान गर्न बाँकी छन्, पहिचान र प्रचारको लागि निरन्तर लागिरहेका छौँ, पहिचान भइसकेका स्थलमा पूर्वाधार निर्माण गर्ने र प्रचार गर्ने कार्यमा जुटेका छौँ ।”

गाउँपालिकाले पूर्वी रुकुमसँग जोडिएको रिग ताल, रोल्पासँग जोडिएको जन्ते ढुङ्गा, प्यूठानसँग जोडिएको नाङ्गे धुरी, कोठेभिरलगायतका पर्यटकीय क्षेत्रको पहिचान गरी प्रचारमा जुटेको अध्यक्ष घर्तीमगरको भनाइ छ । गाउँपालिकाले प्यूठानको गौमुखी र निसीखोला गाउँपालिकाको सिमानामा पर्ने नाङ्गेको धुरीको विकासका लागि दुवै पालिका, जिल्ला र प्रदेश सरकारसँग सहकार्य गरेर विकास गर्ने उनको भनाइ छ ।

“यहाँ थुप्रै परम्परागत धार्मिक कला, संस्कृतिसँगै प्राकृतिक सौन्दर्यले भरिएका ठाउँ छन्, निसीखोलामा रहेका धेरै जसो पर्यटकीय तथा धार्मिक क्षेत्र विभिन्न जिल्लाका सिमानमा रहेका छन्, त्यसले गर्दा दुवै पक्षले समन्वय सहकार्य गरेर विकास गर्दा राम्रो हुने हुँदा छलफल गरीरहेका छौँ र आ–आफ्नो सिमानमा पर्ने स्थालको आफै योजना बनाएर काम सुरु गरेका छौँ”, अध्यक्ष घर्तीले भने । 

वडा नम्बर ६ मा पर्ने रिगताल, वडा नम्बर ३ मा पर्ने नौ बहिनी छहरा, वडा नम्बर ५ मा रहेको कोठेभिर, वडा नम्बर ६ मा रहेको साइलीमाइली झरना, वडा नम्बर ७ को नरसिंहकोट, वडा नम्बर २ को अर्नाकोट, वडा नम्बर ५ को निसेलढोर, वडा नम्बर ३ मा रहेको बराह मन्दिर निसीखोला गाउँपालिकाको प्रमुख गन्तव्य हुन् ।

नरसिंहकोट, रिगताल, अर्नाकोट, नौ बहिनी छहरा, कोठेभिर, नाङ्गेधुरी, निसेल ढोरपाटनको विकासका लागि लागि गुरुयोजना तयार पारेको र केहीको काम शुरु भएको भन्दै अध्यक्ष घर्तीमगरले आगमी वर्षसम्ममा धेरै पर्यटकीय गनतव्य पहिचान हुने र प्रचारमा आउने बताउनुभयो । गाउँपालिकावासीको पर्यटनबाटै जीवनस्तर उकास्न सकिने भन्दै अहिले त्यसको लागि जग तयार गर्न आफूहरु लागि रहेको उनले बताए ।  

“पहिलो चरणमा सम्भावन बोकेका ठाउँको पहिचान गरी रहेका छौँ, त्यसको विकास गर्ने हाम्रो दायित्व हो, भर्खरै यसबाट नतिजा नआउन सक्छ तर विस्तारै नतिजा आउनेमा हामी विश्वस्त छौँ”, उनले भने, “यहाँका नागरिकको पर्यटन व्यवसायबाटै जीवनस्तर उकास्ने कोसिसमा छौँ, त्योअनुसारका काम भइरहेका छन् ।”

पर्यटन प्रवर्धनका लागि यस वर्ष गाउँपालिकामा २५ लाख बढी बजेट विनियोजन भएको गाउँपालिकाका सूचना अधिकारी पुरुषोत्तम गौतमले जानकारी दिए । चालु आर्थिक वर्षमा वडा वडा नम्बर ७ को नरसिंहकोटलाई प्राथमिकतामा रहेको भन्दै त्यसका लागि आठ लाख विनियोजन गरेको उनको भनाइ छ । पर्यटकीय ठाउँमा संरचना निर्माणका लागि प्रदेश सरकारबाट पनि केही बजेट माग गरेको र गाउँपालिकाले थप बजेट व्यवस्थापन गरेर नयाँ गन्तव्यको प्रचारमा जोड दिने उनले बताए ।  

नरसिंहकोटमा अहिलेसम्म मन्दिर निर्माण, सत्तल, पदमार्गलगायतका काम भइसकेको भन्दै अब पर्यटक आकर्षणका लागि संरचना तयार गरिने उनले जानकारी दिए । उनले भने, “गाउँपालिकाले रिगताल, नरसिंहकोटमा निरन्तर बजेट राखीरहेको छ, पूर्वाधार निर्माण पनि भइरहेको छ, यसलाई थप विकास गर्न गाउँपालिकाले गुरुयोजना बनाएको छ, योसँगै पालिकाभित्रका धेरै धार्मिक तथा पर्यटकीय क्षेत्रको गुरुयोजना बनाएका छौँ र चार छ वटा स्थलको काम हुन बाँकी छ, त्यो पनि केही समयमै सकिने छ ।” रासस

salt training

कमेन्ट गर्नुहोस्