
धनगढीबाट कञ्चनपुर गइरहेको म १ ह ८२४ नम्बरको अटो कञ्चनपुरको पुनर्वास नगरपालिका –५ मा दुर्घटना हुँदा त्यसमा सवार एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी घाइते भएका हेटौडाका ३० वर्षीय सरोज रिमालको उपचारको क्रममा धनगढीस्थित मायामेट्रो अस्पतालमा मृत्यु भएको हो ।
दुर्घटनामा परी दुई जना सामान्य घाइते भएको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीले जनाएको छ । प्रहरी निरीक्षक नरेशराज मल्लका अनुसार महोत्तरीको बर्दिबास घर भएका २२ वर्षीय सुशील बुढाथोकी र १८ वर्षीया सविना घिमिरे घाइते भएका छन् । उनीहरुको मायामेट्रो अस्पतालमा उपचार भइरहेको छ ।
अटो अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । अटोसहित चालक २२ वर्षीय रमेश देवकोटालाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।