
देशको विभिन्न स्थानमा भएको छुट्टाछुट्टै दुर्घटनामा ६ जनाको मृत्युभएको छ । प्रहरी प्रधान कार्यालयले दिएको जानकारी अनुसार दुर्घटनामा ती व्यक्तिको ज्यान गएको हो । प्रहरीका अनुसार कास्कीको पोखरा महानगरपालिका–३० तावाकोमुखमा ग.३ च ८०८३ नम्बरको कारको ठक्करबाट पैदलयात्री रुपा गाउँपालिका–१ बोटे गाउँ बस्ने सूर्यबहादुर गोदारको छोरा ४ वर्षीय मुस्कान गोदारको मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको पश्चिम क्षेत्रिय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । कार र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
त्यस्तै, स्याङजाको पुतलीबजार नगरपालिका–११ करेनडाँडामा बुटवलबाट पोखरातर्फ जाँदैगरेको ना.४ ख ३८२८ नम्बरको बसको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ७२ वर्षीय यमबहादुर जिटीको घटनास्थलमै मृत्यु भएको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैबीच मकवानपुरको मनहरी गाउँपालिका–६ नयाँबस्तीमा ना.७ ख ८४७८ नम्बरको ट्याङ्करले ना.१४ प ९९४३ नम्बरको मोटरसाइकललाई शुक्रबार साँझ ठक्कर दिँदा मोटरसाइकल चालक हेटौंडा उपमहानगरपालिका–१५ जाते बस्ने ४० वर्षीय शंकरत्न तितुङको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । दुवै सवारी साधन र ट्याङकर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
त्यस्तै, पर्साको जिराभवानी गाउँपालिका–१ चम्रीमा ठोरीबाट चिलझपट्टीतर्फ जाँदैगरेको ना.३ त २२८७ नम्बरको ट्याक्टरबाट लडेर ट्याक्टरमा सवार जगरनाथपुर गाउँपालिका–५ बस्ने २५ वर्षीय विजय मुखियाको शुक्रबार राति मृत्यु भएको छ । ट्याक्टरबाट लडेर सोही ट्याक्टरले किच्दा गम्भीर घाइते भएका उनको नारायणी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
सोहीअनुसार सुनसरीको रामधुनी नगरपालिका –५ कृषि फर्मस्थित सडकमा को.२४ प ३७५ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री अन्दाजी ३० वर्षीय पुरुषको शुक्रबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको धरान घोपामा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यस्तै, कञ्चनपुरको पुनर्वास नगरपालिका–५ सिम्रीमा म.१ ह ८२४ नम्बरको अटो अनियन्त्रित भई शनिबार बिहान दुर्घटना हुँदा अटोमा सवार मकवानपुर हेटौंडा उपमहानगरपालिका–१ बस्ने ३१ वर्षीय सरोज रिमालको मृत्यु भएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।