
काठमाडौंको नागार्जुन नगरपालिका–२ ठुलोभ¥याङ नजिक सडकमा पार्किङगरी राखेको बा.१ प ९८४ नम्बरको बसमा गएराति आगलागी हुँदा बस पूर्णरुपमा जलेर क्षति भएको छ । आगलागीको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।
यसैबीच तेह्रथुमको आठराई गाउँपालिका–२ खाम्लालुङ चिसापानी बस्ने ४९ वर्षीय अस्मन फोम्बोले आफ्नै कच्ची घरमा शुक्रबार दिउँसो आगजनी गर्दा घरको माथिल्लो भाग, अन्नपात लगायतको सरसामान पूर्णरुपमा जलेर नष्ट भएको छ । त्यसबाट करिब ३ लाख १७ हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ । फरार रहेका अस्मन फोम्बोको प्रहरीले खोजी गरिरहेको छ ।
त्यस्तै, सिन्धुपाल्चोकको चौतारा साँगाचोक गढी नगरपालिका–५ चौतारा बजारस्थित सुबिसु केवल नेटवर्कको कार्यालय कोठामा करेन्ट सर्ट भई शनिबार दिउँसो आगलागी हुँदा कोठामा रहेको सोफासेट २ थान, काठको टेबल २ थान, कुर्सी २ थान, सिसाको सोकेस १ थान, कम्प्युटर २ थान, ल्याप्टप १ थान, पावर मिटर १ थान लगायत विभिन्न सर–सामानहरू जलेर करिब ८ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको प्रहरीको भनाइ छ ।