२८ जेठ २०८३, बिहीबार

झण्डै २ किलोमिटर सडक ५ वर्षमा पनि बनेन

झण्डै २ किलोमिटर सडक ५ वर्षमा पनि बनेन
प्रतीकात्मक तस्वीर

बाँकेको खजुरा गाउँपालिकामा रहेको एक हजार ८०० मिटर नेपालगञ्ज-गुलरिया सडक ठेक्का लिएको पाँच वर्षसम्म पनि पूरा हुनसकेको छैन ।​ 

वि.सं. २०७४ वैशाखमा गजुरमुखी निर्माण सेवा इलामले रू २१ करोड ४९ लाखमा चार लेन सडक निर्माणको जिम्मा पाएको थियो ।

ठेकेदार कम्पनीले समयमै काम गर्न नसक्दा आफूहरूले दुःख पाएको स्थानीयको भनाइ छ । सम्झौता अनुसार कम्पनीले जिल्लाको इलाका प्रहरी कार्यालय धनौलीदेखि १ नम्बर बजारसम्मको चार लेन सडक निर्माण गर्नुपर्ने थियो । 

कम्पनीले सम्झौता भएको ३० महिनामा काम सक्ने लिखित प्रतिबद्धता जनाए पनि अझै सडक अपूरो छ ।

विभिन्न बहानामा पटक–पटक म्याद थपिए पनि निर्माण अझैसम्म पूरा हुन नसकेको स्थानीय सतिश निरौलाको भनाइ छ । सडक निर्माणको माग गर्दै स्थानीयले पटक-पटक आन्दोलन गर्दै आएका छन् । 

सडक डिभिजन कार्यालय नेपालगञ्जका सूचना अधिकारी इञ्जिनियर जनकबहादुर धामील निर्माण  ढिलाइ भए पनि ९० प्रतिशत काम पूरा भएको दाबी गरे ।

उनले यो वर्षसम्म पनि काम पूरा नभए ठेकेदार कम्पनीलाई कारबाहीस्वरूप कालोसूचीमा राखिने बताए ।​ खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर विकले सम्बन्धित निकायमा ताकेता गरे पनि काम हुन नसकेको बताए ।

सडक अलपत्र पार्ने ठेकेदारलाई लुम्बिनी प्रदेश सरकारका विना विभागीय मन्त्री कृष्णा केसीले तत्काल निर्माण पूरा गर्न निर्देशन दिए ।

salt training

कमेन्ट गर्नुहोस्