
माघ १६ गते आज शहीद दिवस मनाइँदैछ । यो दिवस प्रत्येक वर्ष आजकै दिन मनाउने गरिन्छ । प्रजातन्त्र स्थापना तथा विभिन्न समयमा स्वतन्त्रताका लागि जीवन कुर्बान गर्ने शहीदप्रतिको सम्झनामा विविध कार्यक्रम गरी आज देशभर यो दिवस मनाइँदैछ ।
दिवसको अवसरमा राष्ट्रपति, उपराष्ट्रपतिले सन्देश मार्फत शुभकामना दिएका छन् । विसं २०१२ देखि नै तत्कालीन काठमाडौँ नगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १६ गते सहिदको सम्झनामा दिवस मनाइँदै आएको छ । मुलुकमा प्रजातन्त्र स्थापना तथा स्वतन्त्रताको माग गरेर आन्दोलन गर्दा विसं १९९७ मा शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गंगालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा तत्कालिन राणा शासकले मृत्युदण्ड दिएका थिए ।
दिवसका अवसरमा आज बिहान शान्तिवाटिका रत्नपार्कदेखि शहीद स्मारक लैनचौरसम्म प्रभातफेरी कार्यक्रम आयोजना गरिएको छ । प्रधानमन्त्री, मन्त्री, सरकारका उच्चपदस्थ अधिकारी, जनप्रतिनिधि, सुरक्षा निकायको ब्यान्ड टोली र मार्चपास टोलीसहितको प्रभातफेरी शहीद स्मारक लैनचौर पुगी ज्ञातअज्ञात शहीदप्रति श्रद्धाञ्जलि अर्पण गर्ने कार्यक्रम रहेको छ ।