
नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक स्थगित गरेर पार्टी पदाधिकारीको आकस्मिक बैठक बसिरहेको छ ।
सोमवार स्थायी कमिटी बैठक बस्ने तय भएको भए पनि गृह मन्त्रालयको विषयमा निर्णय लिनुपर्ने भएपछि छलफल गर्न माओवादीले पदाधिकारीको आकस्मिक बैठक बोलाएको हो ।
रवि लामिछानेको नागरिकता वैधानिक नभएपछि सर्वोच्चले उनको सांसद पद खारेज गरेको थियो । पद खारेजीसँगै उनको गृहमन्त्री पद पनि गएको थियो । उनको पद गएलगत्तै प्रधानमन्त्री प्रचण्डले गृह आफूसँगै राखेका थिए ।
तर लामिछानेले आइतवार नै नेपालको नागरिकता प्राप्त गरिसकेका छन् । नागरिकता पाएलगत्तै आफू पुनः गृहमन्त्रालयमा फर्किने गरी रविले एमाले अध्यक्ष केपी ओलीमार्फत प्रधानमन्त्रीलाई दबाब बढाएका छन् । रविले आफैं पनि प्रधानमन्त्रीलाई भेटेर आइतबार नै गृहमन्त्रीमा आफ्नो दाबेदारी रहेको जनाउ दिइसकेको बुझिएको छ ।
तर माओवादी गृह आफैं राख्ने तयारीमा छ । यस्तोमा के गर्ने भन्ने छलफल गर्नका लागि माओवादीको पदाधिकारीको बैठक जारी रहेको नेता देव गुरुङले जानकारी दिए ।
माओवादी स्थायी कमिटीमा यसअघि राष्ट्रपतिको चुनाव, पार्टी एकता, आन्तरिक संगठनसहितका विषयमा छलफल भएको थियो ।