गौतम अडाणी समूहले हिन्डनबर्ग रिपोर्ट भारतमाथिको षड्यन्त्र अन्तर्गतको आक्रमण भएको आरोप लगाएको छ ।
हिन्डनबर्गले लगाएको सबै आरोप झूटो भएको भनी समूहले ४१३ पृष्ठको जवाफ सार्वजनिक गरेको छ । अमेरिकी कम्पनीहरूको आर्थिक लाभका लागि नयाँ बजार तयार पार्ने उद्देश्यले यो रिपोर्ट सार्वजनिक गरिएको दाबी अडाणी समूहले लगाएको छ ।
हिन्डनबर्गले जनवरी २४ मा एक रिपोर्ट जारी गरी अडाणी समूहमाथि ठगी र सम्पत्ति शुद्धीकरणको आरोप लगाएको छ ।
रिपोर्ट सार्वजनिक भएपछि गौतम अडाणीको नेटवर्थ १० प्रतिशतले घटेको छ । फोर्ब्सका अनुसार, अडाणीलाई लगभग २ लाख करोड रुपैयाँको घाटा लागेको छ ।
यो रिपोर्ट कुनै विशेष कम्पनीमाथि गरिएको निराधार आक्रमण मात्र नभई भारतमाथि गरिएको सुनियोजित हमला भएको अडाणी समूहको कथन छ । भारतीय संस्थानहरूको स्वतन्त्रता, अखण्डता र गुणवत्तामाथिको यो आक्रमण भएको पनि उसको दाबी छ । भारतको विकासको कथा तथा आशामाथिको आक्रमणको संज्ञा पनि अडाणी समूहले दिएको छ ।
गलत जानकारी र आधा तथ्यका आधारमा रिपोर्ट तयार पारिएको अडाणीको भनाइ छ । त्यसमा लगाइएका आरोप आधारहीन रहेको र बदनाम गर्ने मनसायका साथ राखिएको उसको दाबी छ । झूटो आरोप लगाएर सिक्योरिटीज मार्केटमा स्थान बनाउने अनि शर्ट सेलर हिन्डनबर्गलाई विशाल आर्थिक लाभ दिलाउने त्यसको उद्देश्य रहेको अडाणी समूहको भनाइ छ ।
अडाणी समूहको प्रतिक्रियामा हिन्डनबर्गले पनि जवाफ फर्काएको छ । हिन्डनबर्गले भन्यो, ‘ठगीका बारेमा यस्तो किसिमको जवाफ वा राष्ट्रवादको आवरण स्वीकार्य छैन । अडाणी ग्रुप आफ्नो र आफ्ना अध्यक्षको बढ्दो आय भारतको विकाससँग जोड्न खोजिरहेका छन् । हामी यसमा सहमत छैनौं ।’