झापाका पोल्ट्री व्यवसायीले भारतीय कुखुराको अवैध आयात रोक्न सरकारसँग माग गरेका छन् ।
आर्थिक मन्दी र भारतीय कुखुराको अवैध आयातले पोल्ट्री व्यवसाय धरायसी बनेको भन्दै सीमाबाट हुँदै आएको अवैध कुखुरा आयात रोक्न माग अघि सारेका हुन् ।
भारतबाट सस्तो मूल्यमा आयात हुने जिउँदो कुखुरा र मासुको आयातले झापाका पोल्ट्री व्यवसायी संकटमा परेकाले त्यसलाई कडाइका साथ नियन्त्रण गर्नुपर्ने जिल्ला कुखुरा व्यवसायी संघ झापाका अध्यक्ष विवेक निरौलाले बताए ।
आफूहरूले उठाएका व्यावसायिक मागबारे प्रदेश १ सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई भेट गरी ज्ञापनपत्र समेत बुझाइएको उनले बताए ।
कोरोना महामारी र त्यसपछिको आर्थिक मन्दीका कारण विकराल अवस्था आएको पनि पोल्ट्री व्यवसायीको भनाइ छ । भारतबाट आउने अण्डा, कुखुरा र मासुको आयात रोक्न सक्दा पनि यसबाट यहाँको व्यवसायीलाई राहत मिल्ने आफूहरूले मुख्यमन्त्री कार्कीको ध्यानाकर्षण गराएको निरौलाको भनाइ छ ।
उनका अनुसार जिल्लामा दैनिक करीब ४० हजार किलोग्रामसम्म कुखुराको खपत हँुदैआएको छ । आर्थिक मन्दीका कारणले ४० प्रतिशत माग घटेको र मूल्य समेत घटेको उनले बताए । ३ वर्षअघिसम्म जिल्लामा करीब ८ हजार जना किसान पोल्ट्री व्यवसायमा आवद्ध भए पनि अहिले आएर यो संख्या ४ हजारका हाराहारीमा भएको उनको भनाइ छ ।