
त्रिशूली अस्पताल नुवाकोटले जनआन्दोलनका घाइतेको उपचार निःशुल्क गर्नेभएको छ । त्रिशूली अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा. दीपेन्द्र पाण्डेको अनुसार अस्पतालमा हुने उपचारसहित सबै किसिमको सेवा यस साताबाट निःशुल्क थालिएको हो । बागमती प्रदेश सरकारको सहयोगमा ‘जनआन्दोलनका घाइते’का लागि अस्पतालबाट उपलब्ध रहेको सेवा प्रवाह गर्न प्राप्त कार्यदेशानुसार त्रिशूली अस्पतालले उक्त कार्यक्रम सञ्चालन गरेको उनले बताए ।
“जनआन्दोलका क्रममा घाइते भएका व्यक्तिका लागि सरकारले उपलब्ध गराएको परिचयपत्रका आधारमा अस्पतालबाट उपलब्ध सेवा निःशुल्क गर्न थालिएको छ” मेसु डा. पाण्डेले भने, “घाइते भएकाहरूको बल्झिएको व्यथामात्र होइन, उनीहरूको स्वास्थ्यमा देखिएका समस्या अस्पतालबाट उपलब्ध सेवा निःशुल्क प्राप्त गर्न सक्नेछन् ।”
त्रिशूली अस्पतालमा यसअघिदेखि नै ज्येष्ठ नागरिक र आर्थिकरूपमा विपन्न भएकालाई सामाजिक सेवा एकाइको सिफारिसमा निःशुल्क उपचार पु¥याउँदै आइरहेको छ । ‘अस्पतालको गुणस्तर सुधारका लागि न्यूनतम सेवा मापदण्ड’मा देशभरकै पहिलो बनेको उक्त अस्पतालमा उच्चस्तरीय प्रविधिका सहयोगमा विशेषज्ञसहितको सेवा उपलब्ध छ । रासस