
नेकपा एकीकृत समाजवादीका अध्यफ माधवकुमार नेपालले आज प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई ध्यानाकर्षण पत्र बुझाएका छन्।
मुलुकको आर्थिक संकट समाधान सम्बन्धमा माधव नेपालको पार्टी नेकपा (एकीकृत समाजवादी)ले २० वटा बुँदा समेटेर ध्यानाकर्षण गराएको हो।
पार्टीका अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको प्रतिनिधिमण्डलले देशको अर्थतन्त्र गम्भीर संकटतर्फ उन्मुख भइरहेकाले सरकार जनजीविकाप्रति संवेदनशील हुनुपर्ने भन्दै प्रधानमन्त्री दाहाललाई २० बुँदे ज्ञापनपत्र बुझाएका हुन् ।
ध्यानाकर्षणको ९ औं नम्बर बुँदामा अनौपचारिक क्षेत्रमा रहेको वा लुकाइएको रकम अर्थतन्त्रको मूलधारमा ल्याउनका लागि नयाँ नोट जारी गरी पुराना नोट साट्न लगाउने कार्यक्रम तत्काल लागू गर्न माग गरिएको छ।
साथै मजदुर, किसान र सर्वसाधारण जनताले महँगीकै कारण दैनिकजसो आत्महत्या गर्न थालेको अवस्थामा देशको आर्थिक संकट समाधानका लागि तत्काल कदम चाल्न आग्रह गरिएको छ ।
ज्ञापन पत्रमा जर्जर बनेको देशको अर्थतन्त्र सुधार युवा र बौद्धिक जनशक्ति पलायनबाट रोक्न प्रभावकारी कदम चाल्नुपर्ने उल्लेख छ । विद्यालय तहमा एक सीपमूलक विषय अनिवार्य गर्नुपर्ने र कृषि उत्पादन वृद्धिमा जोड बिक्रीको प्रबन्ध गर्नुपर्ने सुझाव पनि दिइएको छ ।
एकीकृत समाजवादीले संविधानमा उल्लिखित आर्थिक नीति कडाइका साथ लागू गर्न, महंगी नियन्त्रण गर्न, समस्याग्रस्त उद्योग तथा व्यवसायले जरिवाना र कर तिर्ने सुविधा तथा भाखा नाघेका ऋणको किस्ता र ब्याज तिर्ने अवधि २०८० असार मसान्तसम्मलाई बढाउन लगायतका माग गरिएको छ ।
सञ्चार क्षेत्रलाई उद्योगको मान्यता दिन, युवा विद्यार्थी, बौद्धिक जनशक्ति पलायन रोक्नका लागि प्रभावकारी कदम चाल्न, ८ देखि १२ कक्षासम्मको पाठ्यक्रममा अनिवार्य सीपमूलक तालिम र देशभक्तिपूर्ण पाठ राख्न लगायतका माग बुँदागत रूपमा ज्ञापनपत्रमा उल्लेख छ ।
प्रधानमन्त्री प्रचण्डले यस विषयमा सरकार गम्भीर रहेको बताउँदै आफू समस्या समाधानका लागि सबै सरोकार पक्षसँग छलफल गर्ने बताए । उनले बजार भाउलाई नियन्त्रण गर्न नीतिगत रूपमा नै आवश्यक परिवर्तन गरी जनजीविका सहज गराउने प्रतिबद्धता व्यक्त गरेको जनाइएको छ ।
उक्त अवसरमा पूर्व प्रधानमन्त्री झलनाथ खनाल लगायत शीर्ष नेताको पनि उपस्थिति थियो ।