काठमाडौं, ५ भदौ— भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा बुधवार पाँच दिने भारत भ्रमणमा जान लागेका प्रधामनन्त्री शेरबहादुर देउवा नयाँ दिल्लीमा रहँदा भारतीय राष्ट्रपति भवनमा बस्ने भएका छन् । सम्मानस्वरूप पछिल्ला वर्षहरूमा भारतले नेपालका प्रधानमन्त्रीलाई राष्ट्रपति भवनमा राख्दै आएको छ ।
परराष्ट्र मन्त्रालयले सोमवार विज्ञप्ति प्रकाशित गरी प्रधानमन्त्री देउवाको भ्रमणको कार्यक्रम सार्वजनिक गरेको हो । प्रधानमन्त्री देउवालाई भदौ ८ गते राष्ट्रपति भवनमा ‘गार्ड अफ अनर’ विशेष सम्मान प्रदान गरिने परराष्ट्रले जनाएको छ । प्रधानमन्त्री देउवाले सोही दिन भारतीय राष्ट्रपति रामनाथ कोविन्द, समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्नेछन् ।
सोही दिन भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री देउवाको सम्मानमा रात्रिभोज गर्ने कार्यक्रम छ ।
भ्रमणका क्रममा प्रधानमन्त्री देउवाले भारतका तेलंगाना, आन्ध्र प्रदेश र बिहारको भ्रमण गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । भ्रमण पूरा गरी प्रधानमन्त्री देउवा भदौ ११ गते स्वदेश फर्किनेछन् ।