
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो तेस्रो कार्यकालमा शासनको नेतृत्व सिंहदरबारबाटै गर्ने सोच बनाएको बताएका छन् ।
मंगलवार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा प्रधानमन्त्री कार्यालय मातहतका निकाय र कार्यालयको बैठकमा प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।
बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘मैले सिंहदरबारलाई कार्यसञ्चालनको मुख्य थलोको रूपमा लिएको छु । विगतमा सिंहदरबार बाहिर वा निवासबाट शासन चलाउने काम भएको तीतो अनुभूति तपाईं–हामी सबैसँग छ । यसपटक हामीले गल्ती दोहोर्याउनु हुँदैन । विशेष परिस्थितिमा बाहेक सिंहदरबारबाटै काम गर्ने सोचेको छु ।’
‘यसपटक सिंहदरबारबाटै शासनको नेतृत्व गर्ने सोचेको छु, यसको विशेष अर्थ छ,’ उनले भने, ‘प्रधानमन्त्रीले सिंहदरबारबाट काम गर्नु भनेको राज्यका सबै अंगहरूको एकीकृत परिचालनको नेतृत्व गर्नु हो । राज्यका सबै अंगलाई जवाफदेही र उत्तरदायी बनाउनु पनि हो, दण्ड र पुरस्कारको व्यवस्थित प्रणाली स्थापित गर्नु हो ।’
प्रधानमन्त्री प्रचण्डले थपे, ‘तपाईंहरूले आफ्नो कुरा निर्धक्कसाथ राख्न सक्नुहुन्छ । म नयाँ अठोटका साथ काम गर्न आएको छु । सुशासन, सामाजिक न्याय र समृद्धिको आकांक्षा पूरा गर्ने अठोटका साथ आएको छु । सदनमा मलाई प्राप्त विश्वासको मत पनि त्यही जिम्मेवारीका साथ आएको छ । त्यसलाई मैले गम्भीर रूपमा लिएको छु ।’
सम्बोधनका क्रममा प्रधानमन्त्री प्रचण्डले कर्मचारी संयन्त्रमा दण्ड र पुरस्कारको व्यवस्थालाई प्रभावकारी रूपमा लागू गरिने बताए । उनले भने, ‘मेरो प्रधानमन्त्रीत्व कालमा कार्यालयअन्तर्गत रहनुभएका कर्मचारीहरूको उर्जा र सम्मानलाई जोड दिनेछु । तपाईंहरूले आफ्नो भूमिका गम्भीरपूर्वक खेल्नुस् । मैले पनि अभिभावकीय भूमिका खेल्छु । तपाईंहरूले सक्रियतापूर्वक भूमिका खेलेमा राम्रो परिणाम आउँछ । राम्रो काम गर्ने कर्मचारीलाई पुरस्कृत गरिनेछ, तपाईंहरू सबै पुरस्कृत हुन प्रतिस्पर्धा गर्नुस् ।’
‘निर्णय प्रक्रियामा सरलीकरण गरी छिटोछरितो कार्यसम्पादन गर्न निर्देशित गर्छु,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘मैले सचिवहरूलाई दिएको निर्देशनमा धेरै कुरा भनिसकेको छु । त्यसलाई तपाईंहरूले गम्भीरतापूर्वक लिनुभएको होला भन्ने विश्वास लिएको छु । मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । तसर्थ हिजो बनेको कार्ययोजनामाथि सामूहिक छलफल गर्नुछ । अब मन्त्री र सचिवहरू समेत राखेर फेरि छलफल गर्नुपर्ने आवश्यकता महसूस भएको छ । २–३ दिन राम्रोसँग छलफल गरेर काममा गति दिने सोचेका छौं ।’
‘सरकारको नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम यही हलमा घोषणा गरेका थियौं । संसदमा विश्वासको मत लिँदा राखेका विषय, सचिवहरूलाई दिएको निर्देशन र नीतिगत प्राथमिकता समेत राखेर कार्ययोजना बनाउन आवश्यक छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘तपाईंहरूको रिपोर्ट मैले सुनें । यसले सरकारी संयन्त्रको स्थिति बुझ्न राम्रो सहयोग पुगेको छ । राष्ट्रिय गौरवका आयोजनाको निरन्तर अनुगमन आवश्यक छ । सेवा प्रवाहको क्षेत्रमा परिणाम देखिन आवश्यक छ ।’