
मानव बेचविखन तथा ओसारपसार गर्ने कार्यमा संलग्न रहेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुर उदयपुरगढी गाउँपालिका–२ घर भई टोखा नगरपलिका–३ बस्ने ४४ वर्षीय रबि थापामगर भन्ने लालबहादुर मगर र ईलाम फाकफोकथुम गाउँपालिका–५ घर भई काठमाडौं महानगरपालिका –९ बस्ने ४१ वर्षीय डम्बर मगर भन्ने डम्बरबहादुर दर्लामी रहेका छन् ।
उनीहरुमध्ये रविलाई काठमाडौं महानगरपालिका –३ र डम्बरलाई काठमाडौं महानगरपालिका–९ शम्भुमार्गस्थित न्यूलक्ष्मीमार्ग गेष्ट हाउसबाट प्रहरीले पक्राउ गरेको जनाएको छ । कुवेतमा रहेको रोयल रेष्टुरेन्टमा वेट्रेसको काममा मासिक पारिश्रमिक १ सय २० कुवेती दिनार तलब हुनेगरी लगाई दिने र सो रेष्टुरेन्टमा राम्रो काम गरेमा पोर्चुगल र अमेरिकामा रहेको रेष्टुरेन्टमा समेत पठाइदिन्छु भन्ने प्रलोभन उनीहरुले देखाएका थिए ।
गत मंसिर २६ गते भिजिट भिसामा दुबई हुँदै कुवेत लगी त्यहाँ रहेका अन्य एजेन्टमार्फत १ हजार ३ सय कुवेती दिनारमा बिक्री गरी पीडितलाई दैनिक १८ घण्टासम्म काममा लगाई श्रम शोषण गरेको भन्ने उजुरीको आधारमा मानव बेचविखन अनुसन्धान ब्यूरो बबरमहलले कुवेतमा रहेको नेपाली राजदुताबाससँगको समन्वयमा पीडितलाई कुवेतबाट उद्धार गरी नेपाल ल्याएको हो ।
कुवेतमा बस्ने प्रतिवादीले पीडितको मोबाइल नियन्त्रणमा लिई फेसबुक लगायतका सामाजिक सञ्जालहरु प्रयोग गरी विभिन्न व्यक्तिहरुसँग अश्लिल कुराकानी गर्ने र सो कुराकानी गरेको रेकर्ड पीडितको श्रीमान् लगायतका आफन्तलाई पठाइदिने धम्की दिनेगरेका थिए । विभिन्न धाकधम्की दिई कुवेतमा आफू राजीखुसी आएको हुँ बेचबिखनमा परेको छैन भन्ने भिडियो बनाई नेपाल गएपश्चात कोहीकसैलाई उजुरी गर्दिन भन्ने व्यहोराको कागज समेत गराएको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ । घटनामा संलग्न फरार व्यक्तिहरुको खोजी र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।