हङकङ सरकारले विमानका ५ लाख टिकटहरू सित्तैमा बाँड्ने योजनाको घोषणा गरेको छ ।
आफ्नो पर्यटन उद्योगलाई उकास्न तथा शहरमा पर्यटकहरू बढाउन यो उपाय अपनाइएको हो ।
बिहीवार हेल्लो हङकङ अभियान सार्वजनिक गरिएको थियो । त्यससम्बन्धी काम विगत दुई वर्षदेखि गरिँदै आएको थियो ।
हङकङका तीन एयरलाइन कम्पनीहरू क्याथे प्यासिफिक, एचके एक्सप्रेस र हङकङ एयरलाइन्सका टिकटहरू दिन लागिएको हो । यी ५ लाख टिकटहरूमा २५ करोड डलरभन्दा बढी खर्च लाग्नेछ ।
हङकङ भ्रमण गर्न चाहने यात्रुहरूले मार्च १ बाट वर्ल्ड अफ विनर्स स्प्ल्याश पेजमा गई फ्लाइट टिकट लटरीमा आफ्नो नाम दर्ता गराउनुपर्छ ।
टिकटहरू तीन चरणमा उपलब्ध गराइनेछ । मार्च १ देखि दक्षिणपूर्वी एसियाका मानिसलाई, अप्रिल १ देखि मुख्यभूमि चीनमा बस्ने मानिसलाई अनि मे १ देखि बाँकी विश्वका मानिसलाई टिकट उपलब्ध गराइने भएको हो ।
अनि हङकङका स्थानीयहरूलाई पनि अवसर दिइनेछ । जुलाई १ देखि केही एयरलाइन टिकटहरू हङकङवासीलाई उपलब्ध गराइनेछ । कोसभडकालमा उनीहरूले घुम्न नपाएकाले त्यसको अवसर दिइएको हो ।