
सत्ता गठबन्धनमा राष्ट्रपति निर्वाचन र गृहमन्त्रीको विषयले तनावको स्थिति उत्पन्न भइरहेका बेला माओवादी र नेकपा एकीकृत समाजवादीका शीर्ष नेताबीच ब्याक टु ब्याक वार्ता भएको छ ।
बिहीबार प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गर्न नेकपा एसका नेता डा. विजय पौडेल पेरिसडाँडा पुगेका थिए ।
शुक्रबार प्रधानमन्त्रीसँग नेकपा एसका नेता घनश्याम भुसालले भेट गरे । लगत्तै माधव नेपालले उपप्रधानमन्त्री एवं माओवादीका नेता नारायणकाजी श्रेष्ठसँग भेट गरेका छन् ।
यस्तो भेट नयाँ गठबन्धन बनाउने वा सरकारमा जानेबारे भएको हो भन्ने प्रश्नमा नेकपा एसका नेता जगन्नाथ खतिवडाले छलफल मात्रै भएको प्रतिक्रिया दिए ।
‘हामी सत्तामा छैनौं तर भित्रभित्र देश कता जाँदैछ भन्नेबारे पनि बुझ्न खोजेका हौं । न्युट्रलभन्दा विरोधीलाई यस्ता भेटले तरंग सिर्जना गर्छन्’, खतिवडा भन्छन्, ‘हामीले उहाँ (माओवादी) हरूलाई माया गरिरहेका छौं । माया गर्ने दलबीच भेटघाट हुनु अन्यथा होइन ।’
आफूहरूको तत्काल सरकारमा जाने नीति नभएको उनले बताए ।
‘सत्ता गठबन्धनमा खटपट आयो र हामी अहिले नै सरकारमा गइहालौं भनेर भेट भएको होइन’, खतिवडाले भने, ‘हाम्रो पार्टीको तत्काल सरकारमा नजाने नीति छ ।’
राष्ट्रपतिको चुनावमा फेरि पहिलेकै समीकरणको प्रयास भइरहेका बेला ब्याक टु ब्याक भएका यी भेटमा चुनाव, सत्ताको खटपटकसहित विषयमा पनि छलफल भएको छलफललाई भने अर्थपूर्ण रूपमा लिइएको छ ।