१७ असार २०८३, बुधबार

रामग्राममा तटबन्ध सहितको करिडोर निर्माण शुरू

रामग्राममा तटबन्ध सहितको करिडोर निर्माण शुरू
प्रतिकात्मक तस्वीर

नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) को रामग्राम नगरपालिकाले डुबान र कटान नियन्त्रणलाई प्राथमिकता दिँदै झरही खोलामा तटबन्ध सहितको करिडोर निर्माण थालेको छ । 

गत वर्षको बाढीले परासी बजार जलमग्न हुनुका साथै करोडौंको क्षति भएपछि नगरपालिकाले झरही खोला नियन्त्रणको काम शुरू गरेको हो । जसका लागि नगरपालिकाले यस वर्ष १ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

तटबन्ध लगाएर करिडोर निर्माणको योजनामा रहेको नगरपालिकाले बजेट अभाव भएपछि प्रदेश र संघीय सरकारसँग बजेट व्यवस्था गर्न माग गरेको छ । 

नगर प्रमुख धनपत यादवले लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरी र नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) क्षेत्र नम्बर २ बाट प्रतिनिधित्व गर्ने कानून, न्याय तथा संसदीय मामिलामन्त्री धुव्र प्रधानलाई भेटेर बजेट व्यवस्था गर्न माग गरेका छन् ।

नगर प्रमुख यादवका अनुसार कानून, न्याय तथा संसदीय मामिलामन्त्री प्रधानले आफूले बाढी नियन्त्रणलाई प्राथमिकता दिएर बजेटको व्यवस्था गर्न पहल गर्ने बताए । मन्त्रालयमा नगरपालिकाको ध्यानाकर्षण पत्र बुझ्दै उनले अन्य मन्त्रालयसँग यस विषयमा कुरा भइरहेकाले आवश्यक बजेट व्यवस्था गर्ने बताए ।

नगरपालिकाले रामग्राम सात उजैनीदेखि रामग्राम एक सहुवाटिकरसम्म तटबन्ध र करिडोर निर्माणका लागि संघीय सरकारसँग १० करोड रुपैयाँ माग गरेको नगर प्रमुख यादवले बताए । अहिले नगरपालिकाले झरही खोला पुलदेखि काम पनि शुरू गरेको छ । अन्य खोलाको पनि सफाइ र डुबान कटान नियन्त्रणका लागि स्काभेटर खरिद गर्न लागिएको नगरपालिकाले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्