२७ जेठ २०८३, बुधबार

निजामती सेवाको गठन अध्यादेश पारित

निजामती सेवाको गठन अध्यादेश पारित

१ नम्बर प्रदेशको प्रदेश सभाले ‘प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्तका सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश’ सर्वसम्मतिले पारित गरेको छ । 
    
प्रदेश सभाको सोमवार बसेको बैठकमा प्रदेशसभा नियमावली २०७४ (पहिलो संशोधन समेत) को नियम ८१(४) बमोजिम आन्तरिक मामिला तथा कानून मन्त्रीका तर्फबाट सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारीले प्रस्ताव पेश गरेका थिए ।
    
संघीय निजामती सेवा ऐन आइनसकेको अवस्थामा प्रदेशमा रिक्त दरबन्दीमा कर्मचारी व्यवस्थापन गर्न अध्यादेश ल्याएको मन्त्री राजभण्डारीले प्रस्ट पारे । प्रदेशसभा नियमावली २०७४ (पहिलो संशोधन समेत) को नियम १३ बमोजिमको कार्यव्यवस्था परामर्श समितिका सदस्यको विवरणसहित प्रदेशसभा नियमावली मस्यौदाका लागि गठित समितिको विवरण पनि सभामुख बाबुराम गौतमले सार्वजनिक गरे ।
    
८ मिनेट चलेको सदनमा ३ मिनेटपछि नेपाली कांग्रेसका सांसद केदार कार्कीले नियमापत्ति जनाएका थिए । उनले जनताको समस्या अवगत गराइने शून्य समय हटाएको र सदन मिलोमतोमा चलाएको आरोप लगाए ।

प्रदेश सभाको अर्को बैठक मंगलवार अपराह्न १ बजे बस्नेछ ।

salt training

कमेन्ट गर्नुहोस्