
देशको विभिन्न जिल्लामा भएको सवारी दुर्घटनामा परी सोमबार ६ जनाको ज्यान गएको छ । प्रहरीका अनुसार काठमाडौं महानगरपालिका –१३ चागलमा बा.३ ख ५३६१ नम्बरको पानी ट्यांकरको ठक्करबाट सोही ठाउँ बस्ने भक्तपुर नगरपालिका–५ एसिंखेल घर भएका बिजय देउलाकी छोरी ५ वर्षीया रिहाना देउलाको सोमबार मृत्यु भएको छ । ट्यांकर चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जनाएको छ ।
त्यस्तै, रौतहटको चन्द्रपुर नगरपालिका –४ धन्सार पुल नजिकै सडकमा मधेश प्रदेश ०४–००१ प ३५५७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आइतबार साँझ दुर्घटना हुँदा चालक सर्लाही हरिवन नगरपालिका –७ बस्ने ३५ वर्षीय किरण लामा घिसिङको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको चन्दरपुर अस्पताल चपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
सोहीअनुसार रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका –८ सिवगढियामा लु.२ त ४९२९ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकबाट करिब १५ मिटर तल खसेर दुर्घटना हुँदा ट्याक्टर चालक गैडहवा गाउँपालिका –६ बस्ने ४० वर्षीय जितु हरिजनको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको भिम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो ।
यसैगरी रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका–९ तेलारमा लु.१ क ५४७५ नम्बरको बसको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने उमा क्षेत्रीको छोरा ९ वर्षीय माधव क्षेत्रीको सोमबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको भिम अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैबीच बझाङको केदारस्यु गाउँपालिका –४ बजुवामा सु.प.प्र.०१००१ ख ३०७१ नम्बरको ट्रक र सु.प.प्र.०१००१० प ५३१७ नम्बरको मोटरसाइकल सोमबार बिहान एकआपसमा ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही गाउँपालिका–९ झोता बस्ने २५ वर्षीया अमृता खत्रीको घटनास्थलमै मृत्यु भएको छ ।
त्यस्तै, कास्कीको पोखरा महानगरपालिका–५ जिरो किमिमा ग.१६ प ६८३४ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री तनहु म्याग्दे गाउँपालिका–३ कोईरालाथोक घर भएकी ५५ वर्षीया धनमायाँ दर्जीको सोमबार दिउँसो मृत्युभएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको क्षेत्रीय अस्पताल हुँदै मणिपाल अस्पतालमा थप उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।