१५ असार २०८३, सोमबार

उज्ज्वल प्रसाईको ‘एक बागी’माथि विमर्श

उज्ज्वल प्रसाईको ‘एक बागी’माथि विमर्श

उज्ज्वल प्रसाईको कृति  ‘एक बागी’को विषय र पात्र हुन्, लेखक खगेन्द्र सङ्ग्रौला । “ सङ्ग्रौलाले आफूलाई हेर्ने ऐना हो– एक बागी”, उनले भने, “मेरा असङ्गति र अन्तरोविरोधसहित कोही मलाई चिन्न चाहन्छ भने यो पुस्तक पढे हुन्छ ।”

सोमबार बागलुङमा गरिएको पुस्तकमाथिको विमर्शमा सङ्ग्रौलाले लेखक प्रसाईले आफ्नो भण्डारफोर गरेको बताए । “जब तपाइँलाई अर्काको आँखाले हेर्छ, तपाइँले नदेखेका, लुकाउन खोजेका कुराको उसले छिद्र खोल्छ”, सङ्ग्रौलाले भने, “उज्ज्वलले पनि खगेन्द्र भन्ने पात्रको भण्डाफोर गरेको हो ।”

भण्डाफोर कम्युनिष्टको भाषा भए पनि आजकालकाले बिर्सेको भन्दै उनले कटाक्ष गरे । “पहिले कम्युनिष्टहरुले दृष्ट, पापी, अत्याचारी, देशीविदेशी प्रतिक्रियावादीको भण्डाफोर गर्थे, अहिले उनीहरु आफै भण्डाफोरित भइसके”, सङ्ग्रौलाले भने । 

७७ वर्षीय उनले जीवनको एक भाग अरुका लागि बाँच्ने प्रयास गरेको सुनाए । “जिन्दगी दुई किसिमले बाँचिन्छ, आफ्ना लागि र अरुका लागि”, उनले भने, “मैले जीवनको एक खण्ड समाजलाई अर्पण गरेँ, उत्पीडिनमा परेकाहरुको न्याय र अधिकारका पक्षमा बोल्ने प्रयास गरेँ ।”

आफ्नै जीवनवृत्त समेटिएको पुस्तक ‘एक बागी’ पढेपछि जीवन दुर्गुण, असङ्गति र अन्तरविरोधले भरिपूर्ण रहेको पाएको उनले चर्चा गरे । सङ्ग्रौलाले आफ्नो निन्दा र प्रशंसामा नभई वस्तुनिष्ठ र गम्भीर अनुसन्धान गरेर पुस्तक लेखिएको बताए । 

थोरै छापिएका, कमैले पढेका, कतिले बिर्सिसकेका आफ्ना पुराना कृतिलाई पनि लेखक प्रसाईले स्मरण गराएको उनले चर्चा गरे । सङ्ग्रौलाका पुराना रचनाको सन्दर्भ, विषयवस्तु र समयबोधलाई लेखक प्रसाईले पुस्तकमा सन्दर्भित गरेका छन् । 

लेखक प्रसाईले ‘एक बागी’ खगेन्द्र सङ्ग्रौलालाई विषय बनाएर लेखिएको जीवनीपरक पुस्तक रहेको बताए । “पुस्तकमा सात दशकको नेपाली समाजको एक सरो कथा भन्न खोजिएको छ”, उनले भने, “यसले राणाकाल, पञ्चायत, बहुदल हुँदै गणतन्त्रसम्मको नेपाली समाज र राजनीतिबारे बुझ्न सघाउँछ ।”

लेखक प्रसाईले पाँच छ वर्षको खोज र अध्ययनपछि ‘एक बागी’ लेखेको सुनाए । “यो खगेन्द सङ्ग्रौलाको जीवनी हो, उनी कुनै ठूलो र असाधारण मान्छे भएर जीवनी लेखेको होइन, उनी आम मान्छे हो, साधारण लेखक हो”, उनले भने, “खगेन्द्र सङ्ग्रौलाले बाँचेको जीवन र समयका कथाहरु पुस्तकमा छन् ।”

विर्मशमा लेखकद्वयले पाठकसँग सम्वाद पनि गरे । पुस्तकको रचनागर्भदेखि लेखक  सङ्ग्रौलाको साधना र सङ्घर्षबारे पाठकले जिज्ञासा राखेका थिए । सङ्ग्रौलाले सामाजिक न्याय र समानताको लागि आफू सँधै ‘बागी’ विचार र चिन्तन लिएर हिँडिरहेको बताए ।  

नयाँ विश्व अनलाइनद्वारा आयोजित सो कार्यक्रममा पुस्तक हस्ताक्षरलाई समेत जोडिएको थियो । पाठकले लेखकको हस्ताक्षरसहित पुस्तक लिएका थिए । नयाँ विश्वका सम्पादक मुकेशचन्द्र राजभण्डारीले लेखक–पाठकबीच अन्तरसम्वादसमेत भएको बताए । ‘एक बागी’ बेला पब्लीकेशनबाट केही महिनाअघि प्रकाशित भएको थियो । रासस

salt training

कमेन्ट गर्नुहोस्