२७ जेठ २०८३, बुधबार

सरसर्ती २४ घण्टा : यस्ता छन् मुख्यमुख्य घटनाक्रम

सरसर्ती २४ घण्टा : यस्ता छन् मुख्यमुख्य घटनाक्रम

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
सरकारले दुई सचिवहरूको सरुवा गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा रहेका सचिव कृष्णहरि पुस्करलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा गर्ने निर्णय गरेको छ । 

यसैगरी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव अर्जुन पोखरेल प्रधानमन्त्री कार्यालयमा सरुवा भएको एक मन्त्रीले जानकारी दिए । 
राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिएपछि पहिलो पटक सोमबार मन्त्रिपरिषद्को बैठक बसेको थियो ।
००००
नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको भाउ प्रतिलिटिर ३ रुपैयाँ बढाएको छ । जसअनुसार पेट्रोल प्रतिलिटर १७८ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १७५ पुगेको छ । हवाई इन्धन र एलपी ग्यासको मूल्य भने हाललाई यथावतै राखिएको निगमको भनाइ छ । 

निगमले माघ १८ गते भारतीय आयल निगमबाट पेट्रोलमा ८.०१, डिजेलमा ७.९८ रुपैयाँ र मट्टितेलमा ४.६१ रुपैयाँ मूल्यवृद्धि भएर आएको जनाएको छ ।
००००
नागरिक उन्मुक्ति पार्टीका सचेतक तथा प्रतिनिधिसभा सदस्य अरुणकुमार चौधरीको रिटमा उच्च अदालत दिपायलले सोमवार कारण देखाउ आदेश जारी गरेको छ । 
उच्च अदालतका दिपायल राजपुरका सूचना अधिकारी नरबहादुर नेगीका अनुसार चौधरीले दायर गरेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गर्दै उच्च अदालतले कारण देखाउ आदेश मात्र जारी गरेको हो ।
००००
बाल यौन दुराचारको मुद्दामा नवलपुर अदालतको फैसलापछि तनहुँ कारागारको थुनामा रहेका नायक पूर्णविक्रम (पल) शाहलाई अदालतमा उपस्थित गराउन उच्च अदालतले आदेश दिएको छ ।
नाबालिगलाई यौन दुराचार गरेको अभियोगमा नवलपुर जिल्ला अदालतले शाहलाई २ वर्ष ६ महिना कैद र १० लाख रुपैयाँ क्षतिपूर्तिको फैसला सुनाएकोमा उच्च अदालत पोखराले शाहलाई १५ दिनभित्र अदालतमा उपस्थित गराउन आदेश दिएको हो ।
००००
बागमती प्रदेश सभाको सोमवार अपराह्न १२ बजे बस्ने भनिएको बैठक विशेष कारणवश माघ २६ गते अपराह्न १ बजे बस्ने गरी स्थगित गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।
बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले माघ २६ गते बस्ने प्रदेश सभाको बैठकलाई सम्बोधन गर्दै कार्यसूची रहेको प्रदेश सभाका सभामुख भुुवनकुमार पाठकले जानकारी दिए ।
००००
पुस १० गते नयाँ सत्ता समीकरण बनेपछि प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबीच भेटवार्ता भएको छ । 
सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको भेटवार्ता सीमा व्यवस्थापन, राष्ट्रिय सुरक्षा सहितका विषयमा केन्द्रित भएको प्रधानमन्त्रीका प्रेस विज्ञ मनहरि तिमल्सिनाले जानकारी दिए ।
००००
अर्थतन्त्रको चालू आर्थिक वर्षको पहिलो ६ महिनाको सूचकअनुसार अर्थतन्त्रमा उल्लेख्य सुधार आएको देखिएको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको अर्धवार्षिक तथ्यांक अनुसार अर्थतन्त्रका सबै सूचकमा सुधार आएको छ ।
००००
पोखरामा भएको यती एयरको विमान दुर्घटनाका सम्बन्धमा भएको जाँचबुझ बारेको प्रारम्भिक विवरण सार्वजनिक भएको छ ।
पूर्वसचिव नागेन्द्रप्रसाद घिमिरेको संयोजकत्वमा गठित जाँचबुझ आयोगले जहाज अवतरण गर्ने क्रममा बेस लेगमा दुवै इन्जिनका प्रोपेलरहरू फेदरमा गएको पाइएको जानकारी दिएको हो ।
सामान्य बोलीचालीको भाषामा भन्नुपर्दा इन्जिन चलिरहेको भए पनि पंखाको एंगल नमिलेका कारण दुर्घटना भएको देखिएको जाँचबुझ आयोगका सदस्य सिनियर इन्जिनीयर एकराजजंग थापाले बताए ।
००००
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतक, कानुनमन्त्री तथा कानुन सचिवसँगको छलफल गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको  बैठकमा संसदमा प्रस्तुत गरिने विभिन्न विधेयकबारे छलफल भएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले बताए ।
००००
नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले कांग्रेस सरकारमा सहभागी नहुने बताएका छन् । राष्ट्रपति पदमा कांग्रेसको उम्मेदवार हुने भए पनि कांग्रेस अहिले नै सरकारमा सहभागी नहुने स्पष्ट पारे । सोमवार पत्रकारसँग कुराकानी गर्दै उनले भने, ‘कांग्रेस प्रतिपक्षमै बसेर सरकारलाई खबरदारी गर्छ ।’ राष्ट्रपतिको निर्वाचनमा राष्ट्रिय सहमतिको प्रयास गरिने पनि उनको भनाइ छ । राष्ट्रपति पद संविधानको रक्षाका लागि भएको भन्दै संविधानको रक्षा गर्नु सबैको जिम्मेवारी भएको उनको भनाइ छ ।  
००००
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक सामान्य अकंले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक चार दशमलव ५७ अंकले उकालो लागेर दुई हजार एक सय दशमलव ६५ मा पुगेको छ ।
००००
राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट सरकारमा सहभागी भएका मन्त्रीको राजीनामापछि उनीहरूले सम्हालेको मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्ने गरी तोकेकी छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सिफारिशमा राष्ट्रपति भण्डारीले ती मन्त्रालयको कार्यभार प्रधानमन्त्रीलाई नै तोकेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए ।
००००
संसदमा पेश गरिएका संकल्प प्रस्ताव कार्यान्वयनका लागि सरकार बाध्य हुने गरी नियमावलीमा व्यवस्था मिलाउन प्रतिनिधिसभा सांसदहरू सहमत भएका छन् ।
सोमवार सिंहदरबारमा बसेको प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको बैठकमा बोल्दै नेकपा एमालेका उपाध्यक्ष एवं सांसद सुवासचन्द्र नेम्वाङ, नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक, जनता समाजवादी पार्टी, नेपालका सांसद प्रदीप यादवले संसदमा पेश गरिएको संकल्प प्रस्ताव कार्यान्वयनका लागि सरकार बाध्य हुने गरी नियमावलीमा व्यवस्था गर्न उपयुक्त हुने बताए ।
००००
राष्ट्रियसभा उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी सांसद उर्मिला अर्याल निर्विरोध निर्वाचित भएकी छन् ।
सोमवार बसेको राष्ट्रियसभा बैठकमा अध्यक्ष गणेश तिमल्सिनाले अर्याल निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन् ।
००००
नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक स्थगन भएको छ । एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले तयारी नपुगेकाले बैठक स्थगन गर्नुपरेको बताए । उनले चाँडै नै बैठकको मिति तय गरिने जानकारी दिए ।
एमालेले निर्वाचन समीक्षा, आगामी राष्ट्रियसभा उपनिर्वाचन, समसामयिक राजनीति, सङ्गठन सुदृढीकरणलगायतका विषयमा छलफल गर्न यही माघ २९ र फागुन १ गते केन्द्रीय कमिटी बैठक बोलाएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्