
१ नम्बर प्रदेशसभा बैठक २ दिन चलेर पुनः स्थगित भएको छ ।
सरकारले बिजनेश दिन नसक्दा २ दिन चलेर संसद् बैठक स्थगन गरिएको हो ।
सत्तासिन बनेको महिना दिन पुग्नै लाग्दासम्म पनि प्रदेश सभालाई एउटै विधेयक दिन नसकेको प्रदेश सरकार विधेयक खोज्नेतिर लागेको छ । सातौं बैठकसम्म चल्दा न शून्य समयमा सांसदलाई बोल्न दिने गरिएको छ, न त बिजनेश नै दिएर संसद्लाई चलायमान बनाइएको छ ।
सरकारले बिजनेश नदिएको भन्दै प्रमुख प्रतिपक्षीले आवाज उठाइरहेका बेला संसद् स्थगन गरिएको छ । २२ दिन स्थगनपछि सोमवार बसेको बैठकमा सभामुख बाबुराम गौतमले मन्त्रिपरिषद्को कार्यविभाजनबारे प्रदेश प्रमुखले पठाएको पत्र वाचन गरिसक्ने बित्तिकै कांग्रेस सांसद केदार कार्कीले आफ्नो आसन अघिको टेबल ढ्यापढ्याप पारेका थिए ।
पहिलो कार्यकालमा भने एकपटक पनि टेबल ढ्यापढ्याप पारिएको थिएन ।
सरकारले संसद्लाई बिजनेश दिन नसकेको विषयमा मुख्यमन्त्री तथा मन्त्रीहरू अरुलाई दोष लगाएर पन्छिने गरेका छन् । मन्त्रीहरूले आफ्नो कमजोरी नभएको भन्दै अघिल्लो सरकारले के गर्यो नि भनेर जवाफ फर्काउने गर्छन् ।
सोमवारको बैठकमा निजामती सेवा अध्यादेश बहुमतले पारित गरेको थियो भने मंगलवार प्रदेश प्रमुख पर्शुराम खापुङले सम्बोधन गरेका छन् । उनले सम्बोधन गर्दै नामकरणको विषय यही कार्यकालमा टुंगिने विश्वास व्यक्त गरेका छन् ।
प्रदेश सभाको प्रमुख काम कानून निर्माण रहेको भन्दै उनले वस्तुनिष्ठतापूर्वक कानून निर्माण गरेमा बनाएका कानून संशोधन गरिरहनुपर्ने आलोचनाबाट मुक्त हुने पनि बताए ।
प्रदेशसभाका सांसदहरू निर्वाचित भएर आएको ३ महिना भएको छ, हालसम्म कसैले पनि बोल्न पाएका छैनन् । सातौं बैठकसम्म शून्य समयमा पनि सांसदहरूले बोल्न पाएनन् ।
संसद बैठक बस्नुअघि दलका नेतासँग बसेर सभाको कार्यतालिका टुंग्याउने गरिएको थियो । पटक–पटक संसद् स्थगन भएपछि सत्तारुढ दलका सांसदहरू पनि सरकारसँग रुष्ट रहेका छन् । सरकारले बिजनेश दिन नसक्ने अवस्थामा सांसदले आफैं बिजनेश खोज्नुपर्ने सत्तारुढ दलका सांसदको भनाइ छ ।
‘सरकार निर्माण भएको छोटो समय मात्रै भएको छ,’ नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले भने, ‘सरकारले बिजनेश दिन्छ भन्नेमा ढुक्क छु, दिएन भने हामी आफैंले पनि खोज्नुपर्छ ।’
यसअघि पुस ३० गते उपसभामुख चयन गरिएपछि बिजनेश नभएकै कारण प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको थियो । २२ दिनपछि पुनः बैठक बसेको थियो । पुस २५ गते मुख्यमन्त्रीका रूपमा हिक्मत कार्कीले शपथ लिएका थिए । सोही दिन ३ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका उनले पुस २९ गते थप मन्त्री नियुक्त गरेका थिए । अहिले मुख्यमन्त्रीसहित प्रदेशको मन्त्रीमण्डल ७ सदस्यीय छ ।
मंगलवारको बैठक बसेपछि अनिश्चित समयका लागि बैठक स्थगन गरिएको छ । अब चल्ने संसद्मा सरकारले बिजनेश दिनेमा ढुक्क रहेको सभामुख बाबुराम गौतम बताउँछन् ।
हिउँदे अधिवेशनलाई विधेयक अधिवेशन पनि भनिन्छ । बर्खे अधिवेशन नीति तथा कार्यक्रम एवं बजेटमा केन्द्रित हुने गरेको छ । विशेष अधिवेशन खास मुद्दामा केन्द्रित हुने भएकै कारण हिउँदे अधिवेशनलाई विधेयकहरू आउने अवसरका रूपमा चिनिन्छ तर दोस्रो कार्यकालको पहिलो अधिवेशनको सातौं बैठकसम्म आइपुग्दा संसद्मा कुनै पनि विधेयक दर्ता भएको छैन ।
सरकार भने अरूलाई दोष दिएर आफू पन्छिन खोजेको आरोप विपक्षी गठबन्धनको छ ।