
काठमाडौँ । पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध राहदानी कसूरमा मुद्दा चलाउन माग गर्दै निवेदन पेश भएको छ ।
अभिवक्ता युवराज पौडेल (सफल) ले मंगलबार जिल्ला सरकारी वकिलको कार्यालयमा निवेदन दिएका हुन् ।
लामिछानेले तत्काल प्रचलित राहदानी ऐन, २०२४ को दफा ५ को खण्ड (ख) र हाल प्रचलित राहदानी ऐन २०७६ को दफा २१ को खण्ड (क) विपरीत गतिविधि गरेकाले पाँच वर्ष कैद र हदैसम्म जरिमाना गर्नेगरी मुद्दा चलाउन निवेदनमा माग गरिएको छ ।
उनले लामिछानेको नाममा नयाँ राहदानी समेत जारी नगर्न माग गर्दै जिल्ला प्रहरी परिसर काठमाडौँमा माघ १७ गते जाहेरी दर्ताका लागि निवेदन पेस भएकामा दर्ता गरिएको पनि उल्लेख छ । उनले सो उजुरी दर्ताका लागि आदेश जारी गरिदिन निवेदनमार्फत आग्रह गरेका छन् ।
यसअघि लामिछानेको नागरिकता अवैध भएको ठहरसहित सर्वोच्च अदालतले उनको सांसद पद खारेज गरिदिएको थियो भने सोही अनुसार उनले नागरिकता कायम गराउनुपर्ने भएको थियो । सँगसँगै उनले नेपाली राहदानी दुरुपयोग गरेको आरोप पनि रहेको छ ।