१८ असार २०८३, बिहीबार

लघुवित्त पीडितद्वारा दोस्रो चरणको संघर्षको कार्यक्रम घोषणा

लघुवित्त पीडितद्वारा दोस्रो चरणको संघर्षको कार्यक्रम घोषणा

लामो समयदेखि आन्दोलनरत पीडितहरुले लघुवित्त वित्तिय संस्थाहरुको खारेजीको मागसहित दोस्रो चरणको संघर्षका कार्यक्रम घोषणा गरेका छन् । मंगलबार राजधानीमा भएको कार्यक्रममा लघुवित्त वित्तिय संस्थाविरुद्धको संघर्ष समितिका केन्द्रीय अध्यक्ष मनिराम ज्ञवालीले पीडितहरु आत्महत्या गर्न बाध्य हुँदासम्म पनि न्याय नपाउँदा संघर्षको कार्यक्रम घोषणा गर्नुपरेको बताए । 

संघर्ष समितिकी उपाध्यक्ष सुशिला थापाले लघुवित्त संस्थाहरुले गरिब जनतामाथि क्रुरतापूर्वक चक्रीय व्याज लगाएर आत्महत्या गराउन बाध्य पारिरहँदा पनि सरकारी निकायहरु उल्टै उनिहरुको पक्षमा लागेको आरोप लगाइन् । उनले प्रहरी प्रशासनकै अगाडि आफुलाई हातपात गरेको र पीडित महिलालाई वित्तिय संस्थाका कर्मचारीले जिउ बेचेर भएपनि ऋण चुक्ता गर्न भन्दै दुव्र्यवहार गरेको बताइन । 

धादिङका अनिल विसुङ्खेले कोरोनाकालमाजस्तै अहिले लघुवित्तीय संस्थाहरु पीडाको रुपमा आएको बताए । इलाम स्थायी घर भएकी पीडित कुमारी राईले नेपाली समाजमा लघुवित्तीय आतंक बढ्दैगएको र त्यसमा सरकारले न्याय दिनुभन्दा उल्टै पीडककै पक्षमा लागेको बताइन् । 

लघुवित्तीय संस्थाहरु खारेजी, सामुहिक ऋण मिनाह, गरिब किसानलाई निःशुल्क ऋण, आवश्यकता र क्षमतामा आधारित काम र दामको व्यवस्था र समाजवादी अर्थतन्त्रको विकास लगायतका पाँच बुँदे माग राखेका छन् । सो मागहरु पूरा गर्न फागुन १ गतेदेखि ३० गतेसम्म दोस्रो चरण्णको आन्दोलनको घोषणा गरेका छन् । 

सो अनुसार फागुन १ गते पूर्व–पश्चिम राजमार्ग चौराहाहरुमा न्याय खोज्दै दिप प्रज्वलनसहित दिनको १२ बजेदेखि २ बजेसम्म सडकमा सुत्ने, फागुन २ मा ७७ वटै जिल्ला मालपोत कार्यालय र जिल्ला प्रशासन कार्यालयमा सहजिकरणपत्र बुझाउने, फागुन १६ गते ७७ वटै जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना, जुलुसका साथै विरोध प्रदर्शन गर्ने, फागुन ३० गते काठमाडौ केन्द्रित सिंहदरबार अगाडि विशाल विरोध प्रदर्शन गर्ने कार्यक्रम तय भएको सो संस्थाले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्