
कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी ताप्लेजुङ मैवाखोला गाउँपालिका–१ बस्ने लाखबहादुर तामाङ पक्राउ परेका छन् । ३४ वर्षीय तामाङलाई मंगलबार प्रहरीले पक्राउ गरेको जनाएको छ ।
जिल्ला अदालत ताप्लेजुङको २०७६ जेठ २६ गतेको फैसलाले कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय ठहर भएपछि फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले काठमाडौं कपन आकाशेधाराबाट पक्राउ गरेको हो ।
लाखबहादुर समेतका ६ जनाको समूहले ताप्लेजुङ ढुङ्गेसाघुका २४ वर्षीय राजेन्द्र वेनम (लिम्बु) लाई परस्त्रीसँग लागेको भन्ने रिसिइवीका कारण केटीको आवाजमा फोनगरी २०६६ पुस २ गते राति स्थानीय खानीटोलमा बोलाई धारिलो हतियार प्रहार गरी हत्या गरेका थिए ।
हत्या गरेर अलैची घारीमा फालेको घटनामा अदालतले उक्त फैसला गरेको थियो । घटनापश्चात मलेशिया गई पुनः नेपाल फर्की लुकिछिपि बसेको अवस्थामा फेला पारी उनलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।
उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला प्रहरी कार्यालय ताप्लेजुङमार्फत जिल्ला अदालत ताप्लेजुङमा पेश गरिएको थियो । अदालतको आदेशले कैद भुक्तानका लागि कारागार कार्यालय ताप्लेजुङमा उनलाई पठाइएको प्रहरीले जनाएको छ ।