२३ जेठ २०८३, शनिबार

प्रवासी नेपालीको सहयोगमा पदमार्ग निर्माण गरिँदै

प्रवासी नेपालीको सहयोगमा पदमार्ग निर्माण गरिँदै

बागलुङको काठेखोलामा प्रवासी नेपालीको सहयोगमा पदमार्ग निर्माण गरिँदै छ ।  विदेशमा रहेका काठेखोला गाउँपालिका –५ र ६ बिहुँका बासिन्दाले पदमार्ग निर्माणका लागि आर्थिक सहयोग गरेका हुन् । 

वैदेशीक रोजगारीमा रहेका उनीहरुले पदमार्गका साथै सामुदायिक भवन, विद्यालय तथा पर्यटन प्रवर्धनका लागि विभिन्न संरचना निर्माण गर्न आर्थिक सहयोग गर्दैआएका छन् । अहिले उनीहरुकै सहयोगमा बागलुङको प्रसिद्ध धार्मिकस्थल त्रिपुरेश्वर महादेव मन्दिर जोड्ने पर्यटकीय पदमार्ग निर्माण भइरहेको छ । 

पदमार्ग निर्माणमा हालसम्म रु ६० लाख खर्च भएको छ । प्रवासीको सहयोगमा एक किलोमिटर पदमार्ग निर्माण भएको निर्माण समितिका अध्यक्ष खगराज कँडेलले जानकारी दिए । “मन्दिरसम्म पुग्न सहज होस् भनेर पदमार्ग निर्माण गरिएको हो”, उनले भने । काठेखोला –६ शान्तिचोकदेखि हटिया गाउँ हुँदै मन्दिरसम्म पदमार्ग निर्माण भइरहेको छ । निर्माणका लागि स्थानीयले जनश्रमदान गर्दैछन् ।

राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको छेउमै रहेको उक्त मन्दिरमा आन्तरिक तथा भारतीय पर्यटकसमेत आउनेगरेका छन् । पदमार्गबाट पर्यटकलाई मन्दिर पुग्न सहज हुने स्थानीय शिव कँडेलले बताए । पदमार्गमा स्थानीय स्लेट (ढुङ्गा) बिच्छाइएको छ । यहाँबाट धौलागिरि, माछापुच्छरे, अन्नपूर्णलगायत हिमाल देख्न सकिन्छ । बागलुङ बजारदेखि करिब एक घण्टामा यहाँ पुग्न सकिन्छ । मन्दिर नजिकै गुरुकुल सञ्चालनको योजना रहेको स्थानीय नरहरी सापकोटाले बताए । रासस

salt training

कमेन्ट गर्नुहोस्