
आर्थिक तरलतामा गुज्रिरहेको शिवशिखर सहकारीले धनगढीमा रहेको सेवा कार्यालय पनि बन्द गरेको छ। कार्यालय बन्द गरिएपछि शेयरधनी थप चिन्तामा परेका छन् ।
भक्तपुरमा केन्द्रीय कार्यालय रहेको सो सहकारीले देशभर सेवा विस्तार गर्दैआएको थियो । पछिल्लो समय बुटवल शाखामा समस्या देखिएपछि देशभरका सेवाग्राही चिन्तामा परेका छन् । शिवशिखरले सेयरधनी र ग्राहकको रकम फिर्ता गर्न नसक्ने भन्दै मंगलबारदेखि धनगढी सेवा कार्यालय नै बन्द गरेको जनाएको छ ।
सहकारीका सुदूरपश्चिम प्रदेश प्रमुख हेमराज जोशीले सूचना जारी गर्दै पुँजी व्यवस्थापन हुन नसक्दा तथा बजारको लगानी (कर्जा) असुली नभएकाले केही दिनका लागि सेवा बन्द गरिएको बताएका छन्। सहकारी आर्थिक संकटमा परेको खबर बाहिर आएपछि सहकारीका देशभरका सेयरधनी र ग्राहकले रकम झिक्न थालेपछि सहकारीलाई समस्या परेको हो ।
‘हालको मन्दीका कारण सबै बचतकर्ता एकै पटक चल्ती खाता, मुद्दती रकम र सेयर रकम झिक्न आउँदा’ पुँजी व्यस्थापन हुन नसकेको सहकारीले सार्वजनिक सूचना जारी गरेर जानकारी गराएको छ । शिवशिखरको बुटवल सेवा कार्यालयका बचतकर्ता ठगिएको खबर सार्वजनिक भएपछि धनगढी, कञ्चनपुर, महेन्द्रनगर अत्तरियालगायतका सेवा कार्यालयबाट बचत, मुद्दती र सेयर रकम फिर्ता गर्नेहरु ह्वात्तै बढेको धनगढी शाखाले जनाएको छ ।