२२ जेठ २०८३, शुक्रबार

कोशी अस्पतालमा नर्स अभाव, एक नर्सको भागमा २० विरामी

माघ २५, २०७९
कोशी अस्पतालमा नर्स अभाव, एक नर्सको भागमा २० विरामी

विराटनगरको कोशी अस्पतालमा नर्सको चरम अभाव छ । एक जना नर्सले २० जनासम्म विरामी हेर्नुपरेको नर्स गोमा श्रेष्ठले बताइन् । एउटा सिफ्टमा दुई जना नर्सले भर्ना भएका ३० जना विरामी हेर्नुपर्ने बाध्यता रहेको उको भनाइ छ । कोशीको अर्थोपेडिक वार्डमा ३२ शय्या छ । एउटा सिफ्टमा दुई जना नर्स ड्युटीमा दैनिक खटिने गरेका छन् । कोशी अस्पतालकोे स्त्री तथा प्रसुती विभागभित्रको समस्या पनि उस्तै छ । यो विभाग ७० शय्याको छ । जसमध्ये शल्यक्रिया गरेपछि राखिने १० वेडको पोस्टअप वार्ड रहेको छ । 

पोस्टअप वार्डमा कार्यरत एक जना नर्सले १० जनासम्म विरामी हेर्नुपर्ने बाध्यता रहेको पोस्टअप वार्डमा कार्यरत नर्स ममता श्रेष्ठले बताइन् । विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार एक पोस्टअप बराबर एक नर्स हुनुपर्छ । त्यस मापदण्डअनुसार पोस्टअपमा  १० जना नर्सको आवश्यकता पर्छ । तर, अस्पतालले उक्त मापदण्ड पूरा गर्न सकेको छैन ।

अस्पतालले मापदण्ड पूरा गर्न नसक्नुको कारण आवश्यकताअनुसार नर्सको संख्या नहुनु हो । आइसियूसहित अन्य १४ वटा विभागको अवस्थामा पनि उस्तै रहेको छ । कोशी अस्पतालमा  ३ सय ५० शय्या छ । जनरल वार्डमा एक जना नर्सले ४० जनासम्म विरामी हेर्नुपर्ने अवस्था रहेको छ । पूर्वी नेपालको सबैभन्दा ठूलो सरकारी अस्पताल भएकाले यहाँ प्रदेश १ बाहेक मधेश प्रदेश र भारतसम्मका विरामी उपचारका लागि आउनेगरेका छन् । 

अस्पतालका मेसु डा. लक्ष्मीनारायण यादवले अस्पतालमा नर्सको जनशक्ति पर्याप्त नभएका कारण विश्व स्वास्थ्य संगठनको मापदण्ड पालना हुन नसकेको बताए । ‘विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार आईसीयूमा एउटा बिरामीलाई एक जना नर्सले हेर्नुपर्ने हुन्छ । नर्सिङ जनशक्ति कम हुँदा त्यो मापदण्डलाई पालना गर्न सकेका छैनौँ’ उनले भने । 

अस्पतालले ३ सय ५० जना नर्स नियुक्त गरे मात्रै मापदण्डअनुसार उपचार गर्न सकिने अस्पतालकी नर्सिङ प्रमुख मन्जु यादवले बताइन । कोशीमा १ सय ९९ जना नर्सको दरबन्दी रहेको छ । अस्पतालमा अहिले २ सय ५० देखि ३०० जना नर्सको आवश्यकता रहेको यादवको भनाइ छ । 

विश्व स्वास्थ्य मापदण्डअनुसार आईसीयू र भेन्टिलेटरमा उपचाररतका लागि एक जना बिरामीका लागि एक जना नर्सको आवश्यकता पर्छ । साधारण शय्यामा भने एक जना नर्सले ६ जनासम्म बिरामी हेर्नुपर्ने उल्लेख गरिएको छ । तर बालबालिकाको साधारण शय्यामा भने एक जना नर्सले चार जना बिरामी हेर्नुपर्ने हुन्छ । प्रसूतिका लागि लेबर कक्षमा एक जना बिरामीका लागि दुई जना नर्सको आवश्यकता पर्छ । 

salt training

कमेन्ट गर्नुहोस्