०१ साउन २०८३, शुक्रबार

सिरिया भूकम्प : भग्नावशेषमा पुरिएकी बालिकाको पुकार– ‘मलाई निकाल्नुस्, म नोकर बस्न तयार छु’

माघ २५, २०७९
सिरिया भूकम्प : भग्नावशेषमा पुरिएकी बालिकाको पुकार– ‘मलाई निकाल्नुस्, म नोकर बस्न तयार छु’

उत्तरी सिरियामा भूकम्पका कारण घर भत्किएपछि दुई बालिका भग्नावशेषमा पुरिएका छन् । 

भूकम्पको ३६ घन्टापछि आइपुगेका उद्धारकर्ताहरूले उनीहरूलाई सहायताको आश्वासन दिइरहेका छन् । 

‘मलाई यहाँबाट बाहिर निकाल्नुस्,’ ठूली बालिका सुस्तरी भन्छिन्, ‘म तपाईंका लागि जे पनि गर्न सक्छु । नोकर पनि बन्छु ।’

उद्धारकर्ता जवाफ दिन्छन्, ‘हैन, हैन ।’

भिडियोमा उद्धारकर्ताहरू बेसनाया–बसेनिएह नामक गाउँमा रहेको ती बालिकाको घरको भग्नावशेषमा टुक्रुक्क बसेका छन् । उनीहरूलाई त्यहाँबाट कसरी सुरक्षित हटाउने भनी उनीहरू लेखाजोखा गरिरहेका छन् । 

उनीहरूलाई बलियो हुन र नरुन उद्धारकर्ताहरू आग्रह गर्दैछन् । 

पुकारा गर्ने बालिकाको नाम मरियम हो र उनी आफ्नी बहिनीको कपाल मायालु पाराले चलाउँछिन् । उनीहरू भत्केको ओछ्यानमुनि किचिएका छन् । 

सानी नानीको नाम इपलाफ हो । इस्लाममा त्यसको अर्त सुरक्षा हुन्छ । 

मुस्तफा जुहिर अल–सयद आफ्नी पत्नी र तीन बालबालिकासँग सोमवार बिहान सुतिरहँदा ७.८ म्याग्निच्युडको भूकम्पले धर्ती हल्लाएको बताउँछन् । विगत एक शताब्दीमा उक्त क्षेत्रमा आएको यो सबभन्दा ठूलो भूकम्प हो । 

‘भुइँ हल्लिरहेको थियो अनि हाम्रो टाउकोमा छत खस्न थाल्यो,’ उनले बताए, ‘दुई दिन हामी भग्नावशेषमा पुरियौं । हामीले यस अवधिमा गरेको अनुभव अरू कसैले पनि गर्नु नपरोस् ।’

भग्नावशेषमा च्यापिएको आफ्नो परिवारले कुरान पढेको अनि कसैले आफूलाई भेटोस् भनी चर्को स्वरमा प्रार्थना गरेका अल–सयद बताउँछन् । 

‘मानिसले हामीलाई सुने अनि हाम्रो उद्धार भयो,’ उनले बताए, ‘म, मेरी पत्नी र मेरा बालबालिका अल्लाहको कृपाले जिउँदै छौं । हामीलाई उद्धार गर्नेहरूलाई धन्यवाद ।’

मरियम र इलाफलाई भग्नावशेषबाट निकालेर कम्बलमा बेर्दा स्थानीयहरूले खुशियाली मनाएका थिए । 

कठ्यांग्रिदो जाडोको बेलामा अन्य परिवारहरू जीवितै उद्धार गर्ने आशा घन्टा बितेसँगै हराउन थालेको छ । भत्किएका भवनबाट भाग्न सफल भएका मानिसलाई पनि अत्यधिक जाडोका कारण बाँच्न गाह्रो पर्न थालेको छ । 

अल–सयदको घर इदलिब प्रान्तमा छ । उत्तरी सिरियामा रहेको उक्त क्षेत्रमा विद्रोहीहरूको नियन्त्रण छ । त्यहाँ कम्तीमा १२ सय २० जनाको मृत्यु भएको सिरियन सिभिल डिफेन्स नामक मानवीय सहायता समूहले जनाएको छ । त्यस समूहलाई ह्वाइट हेल्मेट्स भनेर चिनिन्छ । 

भग्नावशेषमा सयौं परिवार अझै पनि थिचिएकाले मृत्यु तथा घाइतेको संख्या उल्लेख्य मात्रामा बढ्न सक्ने उक्त समूहको भनाइ छ । 

सिरियामा सरकारनियन्त्रित भागमा कम्तीमा ८१२ जना मारिएको सरकारी समाचार संस्था सनाले खबर दिएको छ । 

टर्की र सिरिया सीमामा ९ हजारभन्दा बढी मानिस भूकम्पका कारण मारिइसकेका छन् । त्यो संख्या उल्लेख्य रूपमा बढ्नेछ । 

आवश्यकता परेकाहरूलाई सहायता सुस्तरी पुगिरहेको छ । तर भूकम्प आउनुअघि नै सिरियाको ७० प्रतिशत जनसंख्यालाई मानवीय सहायता आवश्यक रहेको संयुक्त राष्ट्रसंघले जनाएको थियो । 

राष्ट्रसंघ र मानवीय सहयोगीहरूले खाद्यान्न, आश्रय, विभिन्न वस्तु तथा औषधि लगायत सिरियालीहरूको तत्कालीन आवश्यकतामा जोड दिइरहेको बताएका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्