
अमेरिकामा बस्ने नेपालीको सामाजिक सञ्जाल प्रोफाईल ह्याक गरी रकम ठगी गरेको अभियोगमा कास्की पोखरा महानगरपालिका –१९ लामाचौर घर भएका २३ वर्षीय आशिष परियारलाई प्रहरीले पक्राउ गरेको छ ।
प्राविधिक सबुत, प्रमाण र ह्यूमन इन्टेलिजेन्सको आधारमा प्रोफाईल ह्याक गरी सोही प्रोफाईल मार्फत सरसहयोगको विभिन्न बरबहाना बनाई डिजिटल वालेटहरुमा रकम पठाउन लगाई पीडितबाट नगद ५० हजार रूपैयाँ ठगी गरेको प्रहरीको भनाइ छ । सो ठगी कार्यमा संलग्न उनलाई नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
परियारउपर साइबर अपराध सम्बद्ध ठगी अपराध अन्तर्गतको कसूरमा जिल्ला अदालत काठमाडौंबाट २ दिन म्याद थप अनुमति लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।