
दाङ तुलसीपुर उपमहानगरपालिका वडा १२ स्थित टरिगाउँ विमानस्थलको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएको छ । डीपीआरअनुसार विभिन्न चार विकल्प दिइएको छ । अहिले रहेको धावनमार्गबाट सिधै लैजाँदा एक हजार पाँचसय मिटर मात्रै धावनमार्ग हुनसक्ने भएकाले उत्तरतर्फ तन्काएर एक हजार सातसय मिटर बनाउन सकिने, स्थानीयवासीको जग्गा लिजमा लिएर विमानस्थल विस्तार गर्न सकिनेजस्ता विकल्प रहेको तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीले जानकारी दिइन् ।
उनले डीपीआरमा दिइएका विकल्पमाथि तुलसीपुरमा सरोकारवालासँग छलफल गर्ने तयारी रहेको समेत बताइन् । छलफलपछि निष्कर्ष निकाल्ने र त्यहीअनुसार सङ्घीय सरकारसँग बजेटका लागि पहल गर्ने तयारी रहेको उनको भनाइ छ ।
हाल विमानस्थलको धावनमार्ग सात सय ५० मिटर मात्रै लम्बाइ छ । त्यसमा १९ सिटेभन्दा ठूला जहाज बस्न सक्ने अवस्था छैन । त्यसैले यसलाई विस्तारका लागि तुलसीपुर उपमहानगरपालिकाले उपप्रमुख चौधरीको नेतृत्वमा समिति बनाएर दबाब दिइरहेको छ ।
हाल नेपाल एयरलाइन्सको १९ सिटे ट्वीनेटरले उडान भरिरहेको छ । आगामी फागुन ३ गतेदेखि सीता एयरको जहाजले पनि उडान भर्ने तयारी गरेको छ । तर भाडा भने रु आठ हजार कायम रहनेछ । रासस