
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नेपाल चिकित्सक सङ्घलाई अस्पताल बन्द गर्ने निर्णय फिर्ता लिन आग्रह गरेको छ ।
रास्वपाका महामन्त्री एवं प्रवक्ता डा मुकुल ढकालले एक विज्ञप्ति जारी गरी चिकित्सकमाथि प्रहरीद्वारा भएको लाठीचार्जको घटनाप्रति दुःख व्यक्त गर्दै चिकित्सक सङ्घलाई अस्पताल बन्द गर्ने निर्णय फिर्ता लिन आग्रह गरेका हुन् ।
“राष्ट्रपतिको सवारीको समयमा सर्वसाधारणको आवागमनलाई नियन्त्रण गर्ने नाममा आफ्नो काम सकेर घर फर्कने क्रममा एक कर्तव्यनिष्ट नागरिकलाई आवागमनमा रोक मात्र नलगाइ भौतिक कारबाहीसमेत हुनु अमानवीय घटना हो”, विज्ञप्तिमा भनिएको छ ।
रास्वपाले राष्ट्रपति तथा अन्य उच्च पदस्थ व्यक्तित्वहरूप्रति जनआस्था र विश्वासलाई कायम राख्न सुरक्षा र सवारीका नाममा दैनिक जीवनयापनमा असहज अवस्था सिर्जना गर्न नहुने बताएको छ ।