
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले हुलाक सेवाको परम्परागत संरचनालाई परिवर्तन गर्न लागिएको जानकारी दिएकि छन् । नेपाल पत्रकार महासङ्घ, नेपाल प्रेस युनियन, प्रेस चौतारी नेपाल, प्रेस सेन्टर र प्रगतिशील पत्रकार सङ्घ दाङद्वारा संयुक्तरूपमा आज आयोजित स्वागत तथा बधाई कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताइन् ।
विसं २०२७ को कानुनी संरचनामा रहेको हुलाक सेवाको तत्काल पुनःसंरचना गर्न लागिएको छ उनले भनिन्, “समयसापेक्ष सूचना प्रविधि र सङ्घीय संरचनाअनुसार काम अघि बढाउने गरी ‘ड्राफ्ट’ तयार भइसकेको छ ।”
उनले ‘मिडिया’ क्षेत्रमा देखापरेको समस्याका बारेमा मन्त्रालयको जिम्मेवारी सम्हालेदेखि जानकारी लिने काम जारी रहेको बताइन् । आगामी दिनमा पत्रकार र सञ्चार क्षेत्रको सवलीकरण हुनेखालका कार्यक्रमलाई अघि बढाइने र सरकारी सञ्चारमाध्यमलाई प्रदेशस्तरमा व्यवस्थित गर्ने कामको थालनी गरिने उनको भनाइ छ ।
कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्य शरद अधिकारीले लोककल्याणकारी विज्ञापन कटौतीले साना मिडिया मारमा परेकाजस्ता समस्या समाधान गर्न आग्रह गरे । पत्रकार महासङ्घ दाङ शाखा पूर्वअध्यक्ष प्रताप रेग्मी, सल्लाहकार सुदीप गौतम, पूर्वकेन्द्रीय सदस्य अजयदीप शर्मालगायतले भनाइ राखेका थिए । पत्रकार महासंघ दाङ शाखा अध्यक्ष दुर्गालाल केसीको अध्यक्षतामा कार्यक्रम भएको थियो । रासस