
भारतीय गोर्खामाथि भएको अपमानको व्यथा भारतीय जनता पार्टीका तर्फबाट सांसद राजु विष्टले लोकसभामा नेपाली भाषामा सुनाएका छन्।
१० फेब्रअरीको चालू सांसदीय बजेट अधिवेशनको क्रममा दार्जललिङका लोकसभा सांसद विष्टले सदनमा आफ्नो मत राख्ने मौका पाएपछि उनले भारतीय गोर्खामाथि भएको अपमानको व्यथा नेपाली भाषामै सदनलाई सुनाएका थिए।
विष्टले भने, 'म गोर्खाको सम्मान र स्वभिमानको लागि आज उभिएको छु, गोर्खाहरूमाथि फेरि अपमान भएको छ । यस पटकको अपमान तृणमूल कांग्रेसको कुनै नेताले होइन तर भारतको सर्वोच्च न्यायालयबाट भएको छ।
'गत १३ जनवरी, २०२३ को दिन एक याचिकामाथि सर्वोच्च न्यायालयले सुनवाइ गर्ने क्रममा सिक्किमे नेपालीभाषीलाई विदेशीको लाञ्छना लगाइएको थियो । सर्वोच्च न्यायालयको उक्त बयान सिक्किमेली नेपालीभाषीमाथि मात्र नभएर भारतभरका सम्पूर्ण नेपालीभाषीमाथि नै ठूलो बज्रपात थियो अनि यो भारतीय मूलका नेपालीभाषी गोर्खाहरूको अपमान पनि हो,' विष्टले संसदमा भने।
उनले पुनरावेदन दर्ता गरेर भारत सरकार, सिक्किम सरकार अनि केन्द्रीय गृहमन्त्रालयले त्यो आपत्तिजनक शब्द हटाएकोमा बधाई पनि दिएका छन्, तर भारतीय गोर्खाहरूमाथि यस्तो प्रकारको अपमान यो पहिलोपटक नभएको भन्दै सरकारलाई प्रश्न गरे।
'भारत देशमा बसोबास गर्ने यो डेढ करोड गोर्खाहरू को हुन् म को हुँ ? गोर्खा अर्को देशबाट सिमाना नाघेर आएको होइन तर सीमाले हामीलाई नाघेको चाहिँ हो । जसरी तमिल भाषा बोल्ने श्रीलङ्काई भएनन्, बङ्गाली भाषा बोल्ने बङ्गालदेशी भएनन्, तर भारतीय संविधानले मान्यता दिएको नेपालीभाषी गोर्खाचाहिँ कसरी विदेशी भए ?' सांसद विष्टले सदनमा प्रश्न उठाए।
साथै विष्टले भारतीय गोर्खाहरूमाथि बारम्बार लाग्ने गरेको लाञ्छनालाई जरैबाट उखेल्न गोर्खा सामुदायका ११ जात उपजातलाई जनजातिमा समावेश गर्न माग पनि गरे ।
नेपाली भाषालाई भारतीय संविधानले मान्यता दिएको छ। विष्ट भारतमा नेपाली भाषालाई सम्मान गर्न जोडतोडका साथ लागिपरिरहेका छन्।
गोर्खा जातिको मातृभाषा नेपालीलाई अझ विस्तार गर्न उनको ठूलो योगदान छ।