
भृकुटीमण्डपमा जारी क्यान इन्फोटेक २०२३ मेलामा तीन लाख व्यक्तिले अवलोकन गरेका छन् । कम्प्युटर एशोसिएशन महासङ्घ (क्यान) का अध्यक्ष रञ्जितकुमार पोद्दारले आज आइतबार सो कुराको जानकारी गराएका हुन् ।
क्यान इन्फोटेकमा क्यानले सोचेअनुसार नै अवलोकन कर्ताहरुको उपस्थिति भएको उनले दावी गरे । मेलामा विद्यालयमा अध्ययनरत विद्यार्थीदेखि क्याम्पसस्तरमा टेक्नोलोजी अध्ययनरत विद्यार्थी र सूचना प्रविधिमा चासो राख्ने मानिसहरु अवलोकन गर्न मेला आएको उनको भनाइ छ ।
आजदेखि काठमाडौंमा मेला सकिएको छ । इन्फोटेकले आगामी दिनमा सात प्रदेशमा पनि मेला आयोजना गर्ने जनाएको छ । उनका अनुसार मधेस प्रदेशमा फागुन ५ देखि फागुन ९ गतेसम्म मेला आयोजना हुनेछ । त्यस्तै, सुदूरपश्चिम प्रदेशमा फागुन १३ देखि फागुन १७ गतेसम्म, गण्डकी प्रदेशमा फागुन २६ देखि फागुन ३० गतेसम्म र वागमती प्रदेशमा चैत २ देखि चैत ६ गतेसम्म क्यान इन्फोटेक मेला आयोजना हुनेछ ।
सोहीअनुसार प्रदेश १, कर्णाली र लुम्बिनी प्रदेशमा पनि चाँडै नै क्यान इन्फोटेकको आयोजनामा हुने मेलाको मिति घोषणा हुने अध्यक्षले बताए । काठमाडौंमा क्यान इन्फोटेक मेला २०२३ माघ २४ देखि २९ गतेसम्म सञ्चालन भयो ।