
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ गठबन्धन कुनै पनि बेला टुट्न सक्ने अवस्थामा पुगेको दाबी गरेका छन्।
नेपालले राष्ट्रिय स्वतन्त्र पार्टीको कारण सत्तारुढ गठबन्धन कुनै पनि बेला टुट्न सक्ने अवस्था पुगेको बताएका हुन्।
राष्ट्रपति निर्वाचनपछि मात्रै मुलुकको राजनीतिले कुन कोर्स लिन्छ भन्ने टुंगो लाग्नेसमेत उनले बताए।
आइतबार काठमाडौंको कीर्तिपुरमा आयोजित पार्टीनिकट अनेरास्ववियू स्थायी कमिटी बैठकको उद्घाटन गर्दै उनले सबै पद आफैंले लिएर मुलुकमा राजनीतिक एकाधिकार कायम गर्न खोज्ने एमाले हाबी हुने हो वा होइन भन्ने कुरा पनि राष्ट्रपति निर्वाचनपछि मात्रै भन्न सकिने बताए। त्यसका लागि अब एक हप्ता मात्रै पर्खे पुग्ने उनको भनाइ थियो।
अध्यक्ष नेपालले एमाले अध्यक्ष केपी ओलीमा कांग्रेस र एकीकृत समाजवादीको सहयोग लिएर गठबन्धन भत्काउलान् कि भन्ने चिन्ता छाएको पनि उनले बताए।
उनले भने, ‘अहिले देखिरहनुभएको छ एक किसिमको गठबन्धन छ अहिले । त्यो गठबन्धनमा राजतन्त्रलाई फेरि ल्याउनुपर्छ भन्ने तत्वहरू पनि छन् प्रतिगामीहरू । संघीयताविरोधीहरू पनि छन् । अनि त्यहाँ वामपन्थीहरू पनि छन । संविधानविरोधीहरू पनि छन् । संविधानका रक्षकहरू पनि छन् । यो भन्दा पहिलाको गठबन्धन कस्तो थियो ? कांग्रेस थियो संविधानको पक्षमा उभिने । वामपन्थीहरू थिए । तर चुनाव पनि नयाँ किसिमको शक्ति सन्तुलन भइदियो । पुष्पकमल दाहाललाई प्रधानमन्त्री दिने कि नदिने भन्ने विषयमा त्यहाँ विवाद भयो ।'
अध्यक्ष नेपालले थपे, 'कांग्रेसका सारा पद आफैले लिनुपर्छ भन्ने प्रवृत्ति देखियो । यसले गर्दा समस्या पर्यो । तर अहिले हामीले त्यहाँ देख्यौं । नयाँ घण्टी बजाउँदै आएको पार्टीको चरित्र पनि देखे जनताले । पहिले त केके न गर्ला भन्ने लागेको थियो । नयाँ आए तर घाँडो भए । अदालतले मुद्दा लगायो । पदबाट हटे । त्यही पनि त्यही पद चाहिन्छ भनेर हैरान पारेपछि त्यो गठबन्धन पनि संकटमा परेको छ ।'
गठबन्धनको सरकार भत्केपछि कांग्रेसले, एकीकृत समाजवादीले काँध थाप्ला कि भनेर चिन्ता शुरू भइसकेको उनले बताए।
'ढोक्सा थाप्ने भनेको त्यही हो । त्यताबाट आएपछि यता जोगाउँछन् कि भनेको यही हो । मुलुकको राजनीतिले कुन कोर्स लिने हो, राष्ट्रपतिको चुनावबाट थाहा भइहाल्छ,' उनले भने, अब सबै पद लिन खोजेर नेपालको राजनीतिमा आफ्नो एकाधिकार चलाउन खोज्ने त्यो प्रवृत्ति हाबी हुने हो कि होइन सन्तुलनको राजनीति अप्नाएर जाने भन्ने मान्यता हाबी हुने भन्ने कुरा हप्ता दिनभित्र टुंगो लागिसक्छ ।’
पूर्वराजा ज्ञानेन्द्र शाहप्रति संकेत गर्दै मुलुकमा फेरि मण्डलेहरू जाग्न लागेको उनले बताए।