१० असार २०८३, बुधबार

पाकिस्तानमा हुन लागेको हो सत्तापरिवर्तन ?

फागुन ७, २०७९
पाकिस्तानमा हुन लागेको हो सत्तापरिवर्तन ?

आर्थिक संकटले ग्रस्त पाकिस्तानमा राजनीतिक परिवर्तनको संकेत देखिन थालेको छ । 

प्रधानमन्त्री शहबाज शरीफलाई हटाएर भतिजी मरियम नवाज आफैं प्रधानमन्त्री बन्न खोजेको बताइँदैछ । गठबन्धन सरकारले पेश गरेको मिनी बजेटमा रहेको अलोकप्रिय फैसलाबाट मरियमले आफूलाई अलग्याएकी छन् । 

गत साता पाकिस्तानले अन्तर्राष्ट्रिय मुद्रा कोषको ऋण पाउनका लागि मिनी बजेट प्रस्तुत गरेको थियो । त्यसमा जनतामाथि अत्यधिक कर थोपरिएको थियो अनि पेट्रोल र डीजेलको मूल्य पनि ह्वात्तै बढाइएको थियो । 

सरकारको निर्णयविरुद्ध मरियमले शुक्रवार पार्टी कार्यकर्ता तथा नेतालाई सम्बोधन गर्दै गठबन्धन सरकार आफूहरूको नभएको बताइन् । अब नवाज शरीफको सरकार बन्ने उनको भनाइ छ । पाकिस्तानका पूर्व प्रधानमन्त्री तथा मरियमका बुवा नवाज अहिले लन्डनमा छन् । 

शहबाज सरकाले पाकिस्तानी जनतामाथि चर्को कर लगाएपछि मानिसहरू रिसाएका छन् । मरियमको ताजा बयानलाई जनताको आक्रोशको अभिव्यक्तिका रूपमा हेरिएको छ । 

गत नोभेम्बर महिनामा तत्कालीन सेनाप्रमुख कमर जावेद बाजवा सेवानिवृत्त भएपछि पीएमएल–एन नेतृत्वको गठबन्धन सरकारले असली सत्ता प्राप्त गरेको मरियमले बताइन् । त्यसअघि पाकिस्तानमा कोही अरूले नै सरकार चलाइरहेको उनको भनाइ छ । 

पाकिस्तानमा आगामी अक्टोबर महिनामा प्रधानमन्त्री निर्वाचन हुँदैछ । त्यसअघि मरियमले विद्रोही अभिव्यक्ति दिएपछि उनी काकाको स्थानमा पाकिस्तानको प्रधानमन्त्री बन्न चाहेको संकेत दिन्छ । 

मरियमका पति सेवानिवृत्त क्याप्टेन मोहम्मद सफदरले पनि पार्टीभित्र उनको समर्थन जुटाइरहेको बताइन्छ । 

पाकिस्तानमा राजनीतिक अस्थिरताको पुरानो इतिहास छ । सन् १९४७ मा अस्तित्वमा आएदेखि अहिलेसम्म कुनै पनि सरकारले कार्यकाल पूरा गरेको इतिहास छैन ।
 

salt training

कमेन्ट गर्नुहोस्