
राष्ट्रिय समाचार समिति (रासस)ले आफ्नो ६२ औं स्थापना दिवसको अवसरमा लोकान्तर डट्कमलगायत तीन सञ्चारमाध्यमलाई सम्मान गरेको छ ।
रासस स्थापना दिवसको अवसरमा आइतवार काठमाडौंमा आयोजित विशेष समारोहमा लोकान्तरसहितका सञ्चार माध्यमलाई सम्मान गरिएको हो ।
लोकान्तरतर्फबाट सम्पादक विमल गौतमले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को हातबाट दोसल्लासहित सम्मानपत्र ग्रहण गरे ।
उत्कृष्ट सेवाग्राहीका रूपमा चुनिएको लोकान्तरले विश्वसनीय समाचार प्रकाशित गरेको, राससका सामग्रीहरूलाई क्रेडिट दिएर प्रकाशित गरेको लगायतका कारणले सम्मानित गरिएको हो ।
राससले यसै वर्षदेखि सञ्चारमाध्यमलाई सम्मान गर्न लागेको हो ।
पहिलो वर्ष अनलाइन सञ्चारमाध्यमतर्फ लोकान्तर डट्कम एवं पत्रिकातर्फ गोरखापत्र र दी हिमालयन टाइम्स सम्मानित भएका हुन् ।

समारोहमा प्रधानमन्त्री प्रचण्डले सञ्चारमाध्यमलाई सम्मान गर्ने क्रम राससले आगामी वर्ष पनि निरन्तरता दिने विश्वास व्यक्त गरे ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले लोकान्तरलगायत ३ वटा सञ्चारसंस्थालाई सम्मान गर्न पाएकोमा खुसी व्यक्त गरिन् ।
७ वर्षदेखि लोकान्तर डट्कमले आफूलाई खोजमूलक समाचार सामग्री प्रकाशित गर्ने संस्थाको रूपमा परिचित गराउन सफल भएको छ ।
समारोहमा प्रधानमन्त्री प्रचण्डले स्वदेशी र विदेशी सञ्चारमाध्यमहरूलाई समेत समाचार सेवा प्रदान गर्दै आएको ६ दशकभन्दा पुरानो समाचार संस्था राससले आगामी दिनमा राज्यको एक आधिकारिक सूचना बैंकको रूपमा रहेर काम गर्ने विश्वास व्यक्त गरे ।
