
काठमाडौं, ८ भदौ – चलचित्र ‘गाजलु’ निर्माता रोहित अधिकारीले निर्माण गर्न लागेको चलचित्र ‘ब्रेकअप’ मा नयाँ नायिकाको चयन भएको छ ।
केही समयअघि नै चलचित्रमा ‘ग्याङस्टर ब्लूज’ अभिनेता आशिरमान देशराज जोशी नायकमा छनोट भएपनि नायिकाको भने टुंगो लागेको थिएन । चलचित्रमा आशिरमानको जोडीमा नव–नायिका शिल्पा मास्केलाई अनुबन्ध गरिएको हो । चलचित्रका लागि शिल्पासँग कुरा भइसकेको निर्माता रोहितले जानकारी दिए ।
हलिउड चलचित्रमा समेत काम गरिसकेकी शिल्पाका लागि चलचित्र ‘ब्रेकअप’ पहिलो नेपाली चलचित्र हुनेछ । चलचित्रमा रोहित अधिकारी, रुपक थापा, दीपक खतिवडा लगायतका कलाकारको समेत अभिनय रहनेछ । चलचित्रलाई हेमराज बिसीले निर्देशन गर्दैछन् ।
