नयाँ दिल्ली, ८ भदौ– भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच बिहीवार मध्याह्न दिल्लीस्थित हैदरावाद हाउसमा ‘वान टु वान’ भेटवार्ता भएको छ ।
निजी सहयोगी समेत नराखी दुवै देशका सरकार प्रमुखबीच भेटवार्ता भएको हो । भेटवार्तामा दुई देशबीचको आपसी हितमा छलफल भएको जनाइएको छ ।
यद्यपि दुईदेशबीच हुने भनिएका ‘महत्वपूर्ण सम्झौता’का विषयमा देउवा र मोदीबीच विस्तृत छलफल भएको बुझिएको छ ।

आजको ‘वान टु वान’ भेटवार्ताको तयारी स्वरुप बुधबार देउवा र मोदीबीच आकस्मिक भेटवार्ता भएको थियो ।
देउवा र मोदीको भेटवार्ता पछि दुई देशका प्रतिनिधि मण्डलस्तरीय छलफल हुने छ । प्रतिनिधि मण्डलको भेटवार्तामा नेपाल र भारतबीच हुने ७ ओटा सम्झौताको विषयमा छलफल हुने जनाइएको छ ।
देउवा र मोदीले नेपाल–भारत ( कुशाहा कटैया) अन्तरदेशी विद्युत प्रशारण लाइनको दूरनियन्त्रित यन्त्रबाट उद्घाटन गर्ने कार्यक्रम छ ।