फागुन २, २०७९
राष्ट्रपति निर्वाचन नजिकिँदै गर्दा सरकारको नेतृत्वकर्ता दल नेकपा (माओवादी केन्द्र) पुस १० गते भएको भद्र सहमतिबाट पछि हट्न खोजेको आशंकासहित सहयात्री दल एमाले सशंकित छ । पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ...
काठमाडाैं | फागुन ७, २०७९
मुलुक यतिबेला राष्ट्रपति निर्वाचनमा केन्द्रित छ ।
फागुन २५ गतेका लागि तोकिएको निर्वाचनले वर्तमान सत्ता गठबन्धनलाई नै प्रभावित पार्न सक्ने चर्चा छ ।
भावी राष्ट्रपतिका रूपमा विभिन्न नामहरूमाथि चर्चा भइरहेको छ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुर पनि राष्ट्रपतिको निर्वाचनमा उम्मेदवार हुनसक्ने भनेर चर्चामा रहेका पात्र हुन् ।
नेकपा एमाले र नेपाली कांग्रेसले आ-आफ्नै उम्मेदवार उठाउने तयारी गरिरहेका बेला लोसपाले ठाकुर साझा उम्मेदवार हुनसक्ने भन्दै दाबी गरिरहेको छ । त्यस्तो त लोसपासँग निकै न्यून मतभार छ । सोही कारण ठाकुर स्वयं पनि राष्ट्रपति बन्नेमा आशावादी देखिन्नन् ।
राष्ट्रपति निर्वाचन र समसामयिक राजनीतिक विषयमा लोकान्तरकर्मी अजयअनुरागीले लोसपा अध्यक्ष ठाकुरसँग कुराकानी गरेका छन् । प्रस्तुत छ, कुराकानीको सम्पादित अंश :
लोसपाका तर्फबाट तपाईंलाई राष्ट्रपतिको उम्मेदवार बनाउने भनेर चर्चा गरिएको छ । तपाईं पनि राष्ट्रपतिको उम्मेदवार हो?
– अहिलेसम्म पार्टीमा त्यस विषयमा कुनै छलफल तथा निर्णय भएको छैन । भोलि-पर्सितिर पार्टीको बैठक बस्छ । त्यसमा छलफल भएर निर्णय हुन्छ । अहिले पार्टीका साथीहरूले आफ्नै हिसाबले भनिरहनुभएको हो ।
तपाईं आफूलाई चाहिँ उम्मेदवार बन्छु भन्ने लाग्छ कि लाग्दैन ?
– अब त्यो त कसरी भन्ने ? पहिले त उम्मेदवारी मनोनयनको समय आउनुपर्यो, तब मात्र उम्मेदवारी दिने कि नदिने भनेर निर्णय गर्छौं ।
तपाईंको उम्मेदवारीका लागि लोसपाले अन्य दलहरूसँग छलफल तथा परामर्श गरिरहेको छ कि छैन?
– सामान्य किसिमले हाम्रा साथीहरूले कुराकानी गरिरहनुभएको छ । तर, मैले कुनै पनि पार्टीसँग त्यस्तो औपचारिक वा अनौपचारिक कुराकानी गरेको छैन ।
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई विश्वासको मत दिनुभएको थियो । तर सभामुख र उपसभामुखको निर्वाचनमा कांग्रेस उम्मेदवारलाई मत दिनुभयो। राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनमा पनि कांग्रेसतर्फ नै हो तपाईंहरूको झुकाव ?
– मैले अघि नै भनिसकें, यस विषयमा कांग्रेससँग पनि केही कुरा भएको छैन ।
तर, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नै गाडीमा राखे तपाईंलाई बालकोट लग्नुभएको थियो । ओली निवास बालकोटमा तपाईंहरूबीच के कुराकानी भयो ?
– केही खास कुरा भएन । ओलीजीले राष्ट्रपति निर्वाचनमा हामीलाई समर्थन गर्नुस् भनेर भन्नुभयो । संख्यात्मकरूपमा कुनै परिणाम दिने हाम्रो संख्या छैन भनेर मैले जवाफ दिएँ । उहाँले होइन, तपाईंसँग जे जति मत छ, त्यति नै भए पनि हाम्रो उम्मेदवारलाई दिनुस् भन्नुभयो । त्यसपछि मैले तपाईंको उम्मेदवार को हो भनेर सोधें । उहाँले उम्मेदवार पछि तोक्छु भन्नुभयो । एमालेले उठाउने उम्मेदवारलाई तपाईंको सहयोग चाहिन्छ भन्नुभयो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले राष्ट्रिय सहमतिको आधारमा राष्ट्रपतिको साझा उम्मेदवार हुनुपर्छ भनेर भनिरहनुभएको छ । त्यस विषयमा तपाईंको धारणा के हो ?
– सहमतिको आधारमा साझा उम्मेदवार भइदिए राम्रै हुन्छ। तर, अहिले नै त्यसमा त के भन्ने ? निर्वाचन हुन्छ । सबैले आ-आफ्नो उम्मेदवार उठाउने तयारी गरेका छन् । को–को उम्मेदवार हुने हो त्यो त फागुन १३ गतेपछि नै थाहा हुन्छ ।
प्रधानमन्त्री प्रचण्डलाई के भनेर विश्वासको मत दिनुभएको थियो र अहिले फेरि प्रतिनिधि सभामा किन विपक्षीको बेन्चमा बस्नुहुन्छ?
– अहिलेसम्म हाम्रो कुनै पनि दलसँग गठबन्धन छैन। प्रतिनिधिसभाको चुनावको समयमा मधेश प्रदेशमा नेपाली कांग्रेससँग एउटा समझदारी भएको थियो, त्यतिसम्म मात्र हो। अहिले हामी कांग्रेससँग कुनै गठबन्धनमा छैनौं। पछि के हुने हो त्यो त भविष्यमा नै थाहा हुन्छ । प्रधानमन्त्रीमा प्रचण्डजीलाई मत दिएको हो। हामीले मात्र होइन, नेपाली कांग्रेसले पनि भोट दियो नि ! राष्ट्रिय परिस्थिति नै त्यस्तो बन्यो।
प्रधानमन्त्री प्रचण्डले तपाईंहरूसँग भोट माग्नुभएको थियो कि तपाईंहरूले आफैं भोट दिनुभएको हो?
– उहाँले भोट माग्नुभएको थिएन। हामीले आफैं दिएको हो।
राष्ट्रपति निर्वाचनको विषयमा प्रधानमन्त्री प्रचण्डले केही कुरा गर्नुभएको छैन?
– प्रचण्डजी प्रधानमन्त्री हुनुहुन्छ । उहाँलाई अहिले हाम्रो कुनै आवश्यकता नै छैन ।
तपाईंहरूलाई सरकारमा ल्याउन पनि उहाँले केही प्रयास गर्नुभएन ?
– अहिलेसम्म त्यस्तो केही कुरा गर्नुभएको छैन । सरकारमा जान त प्रधानमन्त्रीजीले भन्नुपर्यो । उहाँले अहिलेसम्म केही भन्नुभएको छैन ।
एमाले अध्यक्षले राष्ट्रपतिमा मत माग्ने बेलामा सरकारमा आउनुस् भन्नुभएन ?
– सरकारमा आउनका लागि ओलीजीले पहिले नै भनिसक्नुभएको छ । उहाँले सरकारमा एउटा मन्त्री दिने भनेर हामीसँग कुरा गर्नुभएको थियो। तर, त्यस अनुसार उहाँले वचन पूरा गर्नुभएन । अहिले साथीहरूले मानेको छैनन्, पछि हेरौंला भन्नुभयो। त्यस विषयमा अहिले थप कुराकानी भएको छैन ।
जनता समाजवादी पार्टीले उपराष्ट्रपति दाबी गरिरहेको छ। सत्ता गठबन्धनमा माओवादीले उपराष्ट्रपति पाउने कुरा छ। जसपाले उपराष्ट्रपति पाए तपाईंको समर्थन हुन्छ कि हुँदैन?
– जसपाले अहिलेसम्म त्यस विषयमा हामीसँग कुनै कुरा गरेको छैन।
मधेशबाट आएका राजनीतिक दलहरू धेरै नै कमजोर भएका छन्। मधेशको सवालमा जसपा, लोसपा, जनमत र नागरिक उन्मुक्ति पार्टीबीच मोर्चाबन्दी वा कार्यगत एकताको सम्भावना छ ?
– त्यो सबै सम्भावना छ । कुराकानी पनि भइरहेको छ । तर, कुनै नतिजा आइसकेको छैन ।
महन्थ ठाकुर राष्ट्रपतिको उम्मेदवार बने हामी सहयोग गर्न तयार छौं भनेर जसपाका अध्यक्ष उपेन्द्र यादवले लोकान्तरसँगको अन्तर्वार्तामा भन्नुभएको थियो । तपाईंहरूबीच केही कुराकानी भएको छ कि ?
– यस विषयमा उहाँसँग कुनै कुरा भएको छैन । त्यसका लागि त उहाँले कुरा गर्नुपर्यो नि ! उहाँको विचार के हो भन्ने विषयमा तपाईंहरूलाई नै बढी थाहा होला । मलाई यस विषयमा केही जानकारी छैन ।
तपाईं आफैंले पहलकदमी लिनुपर्ने हैन र ?
– उहाँ (उपेन्द्रजी) कुराकानी गर्न तयार हुनुहुन्छ भने कसले रोकेको छ ? हामीले त रोकेका छैनौं । उहाँ यदि तयार हुनुहुन्छ भने कुरा गरे भइहाल्यो ।
कुराकानी भयो भने सहकार्य या पार्टी एकताकै पनि कुरा हुनसक्छ कि ?
– एजेन्डा हाम्रो एउटै हो । भेट्न, कुराकानी गर्न कुनै समस्या हुनु भएन । कुनै ठूलो कुरा होइन, चाह्यो भने पार्टी नै एकता हुनसक्छ । जसपा त पहिले पनि हाम्रो कमन नाम नै थियो नि ! पछि हामी अलग भएको हो । त्यसैले कुराकानी गर्न केहीले रोक्दैन ।
राष्ट्रपतिको रूपमा तपाईं आफै उम्मेदवार हुने परिस्थिति बन्यो भने तपाईंले पनि त जसपा, जनमत लगायतसँग भोट माग्नुपर्ला । त्यसैले कुराकानीको शुरूआत तपाईंले गर्नुपर्ने हैन ?
– (हाँस्दै) त्यस्तो परिस्थिति बन्यो भने त तपाईंहरूले पनि थाहा पाइहाल्नुहुन्छ नि ! तपाईंको शुभकामना छ भने त्यसका लागि धन्यवाद छ ।
मधेश प्रदेशमा जसपाका मुख्यमन्त्रीलाई लोसपाले विश्वासको मत दिएको थियो। सरकारमा पनि सहभागी हुने कुरा थियो, अहिले किन सहभागी हुनुभएन ?
– होइन, हामी त अहिले त्यहाँ विपक्षमा नै बसेको हो । मत त दियौं तर त्यसपछि सहकार्यका विषयमा कुनै कुराकानी भएन ।
मधेशमा तपाईंहरू कमजोर भइसक्नुभएको छ । अब कसरी अगाडि बढ्नुहुन्छ ?
– हामी कमजोर भएका छैनौं । हाम्रो मुद्दा कमजोर भएको छैन ।
राष्ट्रपति निर्वाचन नजिकिँदै गर्दा सरकारको नेतृत्वकर्ता दल नेकपा (माओवादी केन्द्र) पुस १० गते भएको भद्र सहमतिबाट पछि हट्न खोजेको आशंकासहित सहयात्री दल एमाले सशंकित छ । पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ...
जनता समाजवादी पार्टीका नेता राजकिशोर यादवले राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनमा जसपाको भूमिका निर्णायक हुने बताएका छन् । अहिले आफूहरू सत्ता गठबन्धनमै रहे पनि राष्ट्रपतिको निर्वाचनसम्ममा परिस्थिति फेरिन सक्...
नेकपा (एमाले)का तर्फबाट मुलुकको नयाँ राष्ट्रपतिका उम्मेदवार बनेका सुवासचन्द्र नेम्वाङले राजनीतिक अस्थिरताका कारण उकुसमुकुसमा रहेका जनताले राष्ट्रपति शीतलनिवासबाट बाहिर निस्कँदा सहजता महसुस गर्ने वातावरण ब...
२८ पुस २०७९ मा ५८ सांसदको समर्थनमा लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका हुन्, नेकपा एमालेका लिला गिरी । तीन महिना सरकारको नेतृत्व गर्न नपाउँदै लुम्बिनीमा सत्ता परिवर्तनको खेल शुरू भएको छ । केन्द्रमा ब...
भारतीय सेनाका अवकाशप्राप्त मेजर जनरल अशोक मेहता नेपाल मामिलामा धेरै जानकारी राख्ने बुद्धिजीवी हुन् । मेहताको विश्लेषण भारतीय संस्थापनसँग नजिक र मिल्दोजुल्दो पाइन्छ । नेपालसँग सरोकार राख्नेगरी दिल्ल...
हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा २० सीट जितेर राष्ट्रिय स्वतन्त्र पार्टी संसद्को चौथो ठूलो दल बनेको छ । झण्डै ४ महिनाअघि मात्र गठित उक्त पार्टीका सभापति रवि लामिछाने चितवन- २ बाट चुनाव जितेर हालै काठमाडौं फर्क...
आज अलि फरक तरिकाबाट छलफल शुरू गरौं जस्तो लाग्यो । राजनीति बाहिरका सन्दर्भले पनि राजनीति र राजनीतिमा लाग्ने पात्र एवं प्रवृत्तिलाई केही सकारात्मक प्रभाव पार्ला कि भन्ने मनसायले फुर्सदलाई सदुपयोग गरी इलोन मस्कलाई ...
प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ले सदनमा चैत ६ गते दोस्रोपटक विश्वासको मत माग्दै गर्दा एउटा निराशाजनक धारणा व्यक्त गरे, ‘अहिले देशको सार्वजनिक बहसको स्तर खस्केको छ । समाधान होइन, दोषारोपणम...
गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...